मितेरी पुलमा नेपाल र चीनबीच बैठक, तातोपानी नाका खुल्ने

डिसी नेपाल
१३ असोज २०७७ २२:१५

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा बसेको बैठकमा नाका असोज १९ गतेदेखि खोल्ने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

नेपालमा कोरोना सङ्क्रमण तीव्र रुपमा बढेसँगै र तातोपानी नाकासम्म पुग्ने सडकमा पहिरो गई सडक भत्किएपछि तातोपानीबाट हुने कारोबार ठप्प भएको थियो । नाका खुलाउने विषयमा छलफल गर्नका लागि चीनका तर्फबाट ल्हासाका उच्च अधिकारीहरु आएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए।

नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी ढकालसहित भन्सार प्रमुख एवं नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रमुखहरु छलफलमा सहभागी थिए ।

चीनतर्फबाट आएका सामान लिपिङ पुलमा ‘अनलोड’ गर्ने भएको छ भने नेपालतर्फका मजदूर तथा चालकले ती सामान ‘लोड’ गरेर ल्याउने सहमति भएको छ । यसका लागि नेपालका तर्फबाट चालक र मजदूर गरी २८ जनाको टोली पीसीआर परीक्षण गरेर तयारी अवस्थामा रहेका छन् ।

छलफलका क्रममा नेपालले चीनतर्फको कुती नजिकैको ताल फुट्न सक्ने भन्दै साइरन राख्न अनुरोध गरेको छ भने चिनियाँ पक्षले यसबारे माथि कुरा गरेर निर्णय गर्ने बताएको पनि प्रमुख खत्रीले जानकारी दिए ।

तिब्ब्तको कुती नजिकैका ताल फुट्ने अवस्थामा रहेको र बाढीपहिरोले सडक अबरुद्ध भएको भन्दै एक महिनाभन्दा बढी समयदेखि तातोपानीबाट व्यापार सञ्चालन भएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.