प्लेब्वाइ अर्बपति पिता यौनकर्मीको फौज घुमाउँछन्, छोराले उपचार खर्च समेत पाएनन्

डिसी नेपाल
२२ असोज २०७७ १२:०२
10.4k
Shares

काठमाडौं। उनका पिता अर्बपति प्लेब्वाइ हुन् जो आफ्नो देशमा संकट भएका बेला जर्मनीको अल्प्समा यौनकर्मीको फौज लिएर मस्ती गर्न जान्छन् । तर विश्वको अर्को छेउ न्यूयोर्कमा उनका निर्वासित छोरा उपचार नपाएर संघर्षरत छन् । थाइल्याण्डका ६८ वर्षका राजा महा वाजीरालंकर्णका छोरा न्यूयोर्कमा प्राणघातक रोगसँग संघर्ष गरिरहेका बेला उनका अर्बपति पिताको २५ अर्ब पाउण्ड (३८ खर्ब नेपाली रुपैयाँ) बराबरको सम्पत्तिबाट एक सुको पनि सहयोग पाएका छैनन् ।

डेलीमेलका अनुसार चाक्रिवात विवाचारावोङसे न्यूरोफइब्रोमाटोसिसबाट पीडित छन् । यो एक दुर्लभ जेनेटिक अवस्था हो जसमा स्नायु प्रणालीमा ट्युमर पलाउँछ । यस्तो ट्युमर मस्तिस्क र मेरुदण्डमा समेत पलाउँछ । ३७ वर्षका विवाचारावोङसे आफ्नो देशबाट निष्काशित गरिएका हुन् । १९९६ मा अहिलेका राजा रामा दशौं र तत्कालीन राजकुमार महा वाजीरालंकर्णले उनकी आमा सुजारिनी विविचारावाङसेमाथि व्यभिचारको आरोप लगाएर उनका ४ छोराहरुसहित देशनिकाला गरेका थिए ।

तत्काली राजकुमार वाजीरालंकर्णले आफ्नी पत्नी र आफ्ना नाबालक छोराहरुको शाही पदवी खोसेपछि उनीहरु अमेरिका गएर बसेका थिए । वाजीरालंकर्णले त्यसपछि पनि २ पटक बिहे गरे र त्यसमाथि पनि रखौटी राखेर विवाद अझै बढाए । गएको मे महिनामा राजगद्दी सम्हालेर राजा रामा दशौं बनेका वाजीरालंकर्णले केही महिनाअघि कोरोनाभाइरस महामारीका बेला ठूलो संख्यामा यौनकर्मीको फौज लिएर जर्मनीको अल्पाइनमा मस्ती गर्न गएका थिए जतिबेला उनको देशमा उनको विरोधमा प्रदर्शन भइरहेको थियो र उनका छोराले किमोथेरापी लिइरहेका थिए ।

विविचारावोङसेका अनुसार उनी आफ्नो स्वास्थ्यको बारेमा जान्ने उत्सुकताका कारण डाक्टर बनेका छन् । उनले ६२ हजार फलोअर भएको एउटा फेसबुक पेजमा नियमित रुपमा स्वास्थ्य सल्लाहहरु पोस्ट गर्छन् । उनले गत हप्ता मात्र आफूले किमोथेरापी लिइरहेको जानकारी गराएका थिए । १९९८ मा विविचारावाङसेले आफ्ना दाजु र भाइहरुसँग संयुक्त रुपमा थाइ मिडियालाई एक पत्र लेखेका थिए जुन पत्र ४ वर्षअघि मात्र सार्वजनिक भएको थियो । पत्रमा उनीहरुले महा वाजीरालंकर्णमाथि आफूहरुको स्मृति मेटाउन खोजेको आरोप लगाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.