‘कोरोनाभाइरस चीनबाट सुरु भएको होइन, चीनले सबैभन्दा पहिले यसको पहिचान गरेको हो’

डिसी नेपाल
२५ असोज २०७७ १०:२७
964
Shares

काठमाडौं। चीनले कोरोनाभाइरस चीनबाट सुरु भएको नभइ गत वर्ष विश्वका विभिन्न भागहरुमा एकैपटक सुरु भएको बरु यसको समयमै पहिचान गरेर कोरोनाभाइरसबारे चीनले सबैभन्दा पहिले विश्वलाई जानकारी दिएको दावी गरेको छ । चीनले कोरोनाभाइरस चीनको वुहानमा सुरु भएको र त्यसपछि महामारीको रुपमा फैलिएको अन्य देशहरुको दावीलाई पूरै अस्वीकार गरेको छ । चीनले कोरोनाभाइरस वुहानको प्रयोगशालाबाट आएको अमेरिकाको दावीलाई अस्वीकार गरेको छ भने यो भाइरस वुहानको पशुपन्छी बजारमा भमेरा र पेंगोलिनबाट मानिसमा सरेको तर्कलाई पनि अस्वीकार गरेको छ ।

समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इण्डियाका अनुसार शुक्रबार चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले मिडिया ब्रिफिङमा भनिन् ‘कोरोनाभाइरस नयाँ किसिमको भाइरस हो र यसको पहिचान भएपछि धेरै तथ्यहरु खुल्दै गएका छन् । हामी सबैलाई थाहा छ गत वर्ष विश्वका विभिन्न ठाउँहरुमा यो महामारी फैलिन सुरु भयो । चीनले यसको संक्रमण फैलिन लागेको सबैभन्दा पहिले रिपोर्टिङ गरेको थियो । चीनले यसको प्याथोजेनको पहिचान गरेर यसको जीनोम सिक्वेन्स विश्वसँग साझा गरेको थियो ।’ अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चीनको कम्युनिस्ट पार्टीमाथि भाइरससम्बन्धी जानकारी लुकाएको आरोप लगाएपछि यसको जवाफमा हुआको यो प्रतिक्रिया आएको हो ।

‘चिनियाँ कम्युनिस्ट पार्टीले सूचना लुकाउँदा यसले कोरोनाभाइरसको संकटलाई झनै गम्भीर बनायो’ पोम्पियोले मंगलबार जापानको टोक्योमा अमेरिका, भारत, अस्ट्रेलिया र जापान सम्मिलित क्याडको विदेश मन्त्री स्तरीय बैठकमा भनेका थिए । विश्व स्वास्थ्य संगठनले यो भाइरसको उत्पत्तिबारे छानबिन गर्ने तयारी गरिरहेका बेला चीनको यस्तो भनाइ आएको हो । बिहीबार साउथ चाइना मर्निङ पोस्टले लेखेअनुसार विश्व स्वास्थ्य संगठनले बेइजिङलाई अन्तर्राष्ट्रिय विज्ञहरुको एक सूची उपलब्ध गराएको छ जसलाई कोरोनाभाइरसको उत्पत्तिबारे खोजी गर्न चीन पठाइनेछ । विश्व स्वासथ्य संगठनले बेइजिङबाट यसको स्वीकृतिको प्रतिक्षा गरिरहेको छ ।

मे महिनामा विश्व स्वास्थ्य संगठनको जेनेभामा रहेको नीति निर्माण गर्न निकाय विश्व स्वास्थ्य सभाले भाइरसको उत्पत्तिबारे खोजी गर्ने निर्णय पारित गरेको थियो । चीनले समेत यो निर्णयको पक्षमा मत राखेको थियो । अगष्टमा विश्व स्वास्थ्य संगठनको २ सदस्यीय टोलीले चीन गएर यो भाइरस जनावरबाट फैलिएको हुन सक्ने सम्भावनाबारे खोजीको लागि ग्राउण्डवर्क पूरा गरिसकेको छ । यही सोमबार विश्व स्वास्थ्य संगठनका आकस्मिक कार्यक्रमका निर्देशक माइक रेयानले संगठनको कार्यकारी बोर्ड बैठकमा विज्ञहरुको सूची बेइजिङलाई उपलब्ध गराइएको जानकारी गराएका थिए ।

हुआले पोम्पियोको आरोपलाई खारेज गर्दै चीनका उच्च तहका वैज्ञानिकले जनवरी १९ मा यो भाइरस मानिसबाट मानिसमा सर्ने पत्ता लगाएको बताइन् । चीनले सबैभन्दा पहिले वुहान शहर र हुबेइ प्रान्तलाई बन्द गर्ने निर्णय गरेको बताउँदै हुआले भनिन् ‘जनवरी २३ मा चीनले वुहानमा लकडाउन लागू गर्यो । त्यतिबेला चीनबाहिर केवल ९ वटा पुष्टि भएका केस थिए र अमेरिकामा एउटा मात्र थियो । जब अमेरिकाले फेब्रुअरी २ मा चिनियाँ नागरिकको लागि सीमा बन्द गर्यो त्यतिबेला अमेरिकाले एक दर्जन केस मात्र पुष्टि गरेको थियो । अहिले अमेरिकामा पुष्टि भएका केस साढे ७ मिलियन छन् र २ लाख १० हजारको मृत्यु भइसकेको छ ।’

हुआले अगाडि भनिन् ‘विश्वको सबैभन्दा शक्तिशाली र विश्वकै सबैभन्दा राम्रो मेडिकल सुविधा भएको देशले टेस्टलाई यति नराम्रोसँग कसरी संचालन गर्न सक्छ ? किन अमेरिकाले यो भाइरस चाँडै पहिचान गर्न सकेन र किन सकेसम्म धेरै मानिसको परीक्षण गर्ने र भाइरस प्रसारमा नियन्त्रण गर्ने उपाय अपनाउन सकेन ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.