उत्तर कोरियाले बनायो अमेरिकाको जुनसुकै शहरमा हान्न सक्ने मिसाइल, ट्रम्प आक्रोशित

डिसी नेपाल
२५ असोज २०७७ १४:३८
2.8k
Shares

काठमाडौं। उत्तर कोरियाले अमेरिकाको जुनसुकै शहरमा मार हान्न सक्ने इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल तयार गरेको खुलासा भएको छ । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार शनिबार देशको सत्ताधारी वर्कर्स पार्टीको ७५ औं स्थापना दिवसको अवसर पारेर यो अत्याधुनिक हतियारको सार्वजनिक प्रदर्शन गरिएको थियो । उत्तर कोरियाको मिलिट्री परेडमा यो मिसाइलको सार्वजनिक प्रदर्शनीपछि विशेषज्ञहरुले यो मिसाइलले अमेरिकाको जुनसुकै शहरमा मार हान्न सक्ने अनुमान गरेका हुन् ।

डेलीमेलमा प्रकाशित रिपोर्टअनुसार उत्तर कोरियाले यो नयाँ र शक्तिशाली मिसाइलको सार्वजनिक प्रदर्शन गरेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित भएका छन् । रिपोर्टअनुसार उत्तरु कोरियाको यो नयाँ मिसाइल यति ठूलो देखिन्छ कि यसले अमेरिकाको कुनै पनि शहरमा मार हान्न सक्ने अनुमान गर्न सकिन्छ । उत्तर कोरियाको यो मिसाइल विश्वकै सबैभन्दा ठूलो रोड मोवाइल मिसाइल हुन सक्ने अनुमान गरिएको छ । किनकि विश्वका अन्य शक्तिशाली देशहरुले यसरी लञ्चरसहित सडकमा गुडाउन मिल्ने मोवाइल मिसाइल यति ठूला बनाउँदैनन् । मिसाइल लिएर हिँड्न सहज होस् भन्ने उद्देश्यले उनीहरुले केही साना रोड मोवाइल मिसाइल बनाउँछन् ।

भक्स डटकमको रिपोर्टअनुसार अमेरिकी राष्ट्रपतिसँग सम्बन्धित सूत्रले उत्तर कोरियाको नयाँ मिसाइल परेडको जानकारी पाएपछि ट्रम्प आक्रोशित भएको जानकारी दिएको छ । ट्रम्प र किम जोंग उनबीच कैयौं पटक शान्ति वार्ता भएका थिए तर सबै वार्ता विफल रहे । अहिले उत्तर कोरियाले यसरी शक्तिशाली हतियार सार्वजनिक गरेपछि किम जोंग उनले एकातर्फ अमेरिकी राष्ट्रपतिसँग शान्ति वार्ता गर्ने र अर्कोतर्फ पर्दापछाडि शक्तिशाली आणविक हतियार विकसित गर्ने गरिरहेको खुलासा भएको छ । यसलाई ट्रम्पले आफूमाथि ठूलो धोका भएको ठानेर उनी आक्रोशित भएको बताइएको छ ।

उत्तर कोरियाले परेडमा नयाँ विशाल इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइसीबीएम)सँगै पनडुब्बीबाट लञ्च गरिने ब्यालेस्टिक मिसाइल पनि प्रदर्शन गरेको थियो । तस्वीर र भिडियोका आधारमा विशेषज्ञहरुले उत्तर कोरियाको नयाँ आइसीबीएमको लम्बाइ २५ देखि २६ मिटरसम्म हुन सक्ने बताएका छन् । यो मिसाइलले २ हजार देखि ३ हजार ५ सय किलोसम्म विष्फोटक बोकेर कुनै ठाउँमा खसेर विष्फोट हुन सक्ने अनुमान गरिएको छ । यो मिसाइललाई उत्तर कोरियाले २०१७ मा विकास गरेको आइसीबीएम ह्वासोङ–१५ को उन्नत संस्करण ह्वासोङ–१६ मानिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.