भारतका छुट्टाछुट्टै ३ राज्यका पुलिस आएर ८ जना नेपाली पक्रेर लिएर गए
सांकेतिक तस्वीर
काठमाडौं। भारतका विभिन्न राज्यमा चोरी गरेर फरार भएका नेपालीहरुलाई पक्राउ गर्न भन्दै पछिल्ला केही दिनमा भारतका तीन छुट्टाछुट्टै राज्यका पुलिसहरु नेपालसँगको सीमावर्ती राज्य उत्तराखण्डमा आएर ८ जना नेपालीलाई पक्राउ गरेर लिएर गएका छन् । ती नेपालीहरु भागेर उत्तराखण्ड आएको सूचनाका आधारमा पुलिस टिम आएको हो । महाराष्ट्र र तेलंगनाबाट आएको टोलीले केही नेपालीलाई पक्राउ गरेर लिएर गएको भए पनि पंजाबबाट आएको टोली रित्तै फर्किएको उत्तराखण्ड पुलिसलाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले लेखेको छ ।
नवी मुम्बइमा एक डाक्टरको घरमा भएको चोरीमा संलग्न भएको आरोपमा रमेश सिंहलाई पक्राउ गर्न आएको टोली नैनितालमा उनकी श्रीमती बस्ने घरमान पुगेको थियो । त्यहाँ रमेश नभेटिएपछि घरको खानतलासीमा करिब ५ लाख मुल्यको एउटा सुनको बिस्कुट भेटिएको थियो । उनकी श्रीमतीले रमेश नेपाल भागेको बताएकी थिइन् । त्यसपछि पुलिस टिमले उनकी श्रीमतीलाई लिएर फर्किएको छ ।
पंजाबको लुधियानामा भएको अर्को घटनामा संलग्न भएको आशंकामा २ नेपालीलाई खोज्दै आएको पंजाब पुलिसको टोलीले सीमावर्ती शहर बनबासामा ३ दिनसम्म बसेर आरोपीहरुको खोजी गरेको थियो । तर, तीन दिनसम्म पनि केही हात नलागेपछि टोली सोमबार रित्तै फर्किएको छ । अक्टोबर ८ मा भएको घटनामा ती २ नेपालीले डेढ करोड बराबरको चोरी गरेको आरोप लगाइएको छ । तेलंगनाबाट आएको टोलीले विभिन्न चोरीको आधारमा ७ जना नेपालीलाई उत्तराखण्डबाट पक्राउ गरेर लिएर गएको समाचारमा जनाइएको छ ।







डिसी नेपाल








Facebook Comment