प्रहरी जवान तथा हवल्दारको समस्या समेटिएको प्रतिवेदन तयार
फाइल फाेटाे
काठमाडौं। नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानहरुको खस्कँदो मनोबललाई उच्च पार्न प्रहरी प्रधानकार्यालय एक अध्ययन प्रतिवेदन तयार गरेको छ।
वर्तमान अवस्थामा नेपाल प्रहरीमा देखिएको वितृष्णको कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरु सम्बन्धी अध्ययन प्रतिवेदन गरिएको हो। सो प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले सार्वजनिक गरे।
सो अवसरमा आईजीपी थापाले यस अध्ययन प्रतिवेदनबाट आएका निष्कर्षहरुले आउने दिनमा मातहत कर्मचारीहरुलाई कसरी सम्बोधन गर्ने भन्ने स्पष्ट दिशा प्रदान गरेको बताएका थिए।
आन्तरिक व्यवस्थापनले मातहत कर्मचारीहरुको मनोबलमा वृद्धि गर्न सकिने अध्ययन प्रतिवेदनबाट देखिएको बताउँदै आईजीपी थापाले प्रतिवेदनबाट आएका निष्कर्षबाट कार्ययोजना तयार पारी त्यसलाई अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए।
यस सम्बन्धी विगतमा थुप्रै अनुसन्धानका कार्यहरु भएको उल्लेख गर्दै अब बनाइने कार्ययोजना तथा नीतिहरुलाई कार्यान्वयनमा ल्याइने उनले बताए।
कार्यक्रममा त्रिभुवन विश्वबिद्यालय दी रिसर्च सेन्टर फर नेपाल एण्ड एशियन स्टडिजका कार्यकारी निर्देशक मृग्रेन्द्र बहादुर कार्की र गृहमन्त्रालयका सह(सचिव थानेश्वर गौतमले अध्ययन प्रतिवेदन सन्दर्भमा आआफ्नो विचार व्यक्त गरेका थिए।
उक्त अवसरमा प्रहरी उपरीक्षक मनोज कुमार केसीले अध्ययन प्रतिवेदन सार्वजनिकीकरण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय लगायत ७ वटै प्रदेशका विभिन्न १५ जिल्लाहरुमा उक्त सर्वेक्षण गरिएको जानकारी दिए।







डिसी नेपाल







Facebook Comment