‘सुतिरहेको दानव’ भनिने आर्कटिकको मिथेन निस्किन थाल्यो, वातावरणलाई गम्भीर खतरा
काठमाडौं। उत्तरी ध्रुवमा रहेको आर्कटिक सागरमा जमेको अवस्थामा रहेको मिथेन संग्रह उत्सर्जन हुन थालेको वैज्ञानिकहरुले प्रमाण फेला पारेका छन् । ‘कार्बन चक्रको सुतिरहेको दानव’ भनेर चिनिने यो मिथेन संग्रह पूर्वी साइबेरियामा रहेको महादेशीय ढलानको ठूलो क्षेत्रबाट उत्सर्जन हुन थालेको वैज्ञानिकलाई उद्धृत गर्दै द गार्डियनमा प्रकाशित रिपोर्टमा जनाइएको छ ।
यो सम्भावित ग्रिनहाउस ग्यासको ठूलो परिमाण रुसनजिकै लाप्तेभ सागर क्षेत्रमा ३५० मिटरको क्षेत्रमा भेटिएको छ । यो पर्यावरणका लागि ठूलो चुनौती हुने र यसले विश्वव्यापी तापमान वृद्धिलाई तीब्र बनाउनेप्रति वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् ।
आर्कटिकको यो ढलान क्षेत्रमा ठूलो परिमाणमा मिथेन र अन्य ग्यासहरु जमेको अवस्थामा छन् जसलाई हाइड्रेट भनेर चिनिन्छ । विगत २० वर्षदेखि मिथेन ग्यासले कार्बन डाइअक्साइडको तुलनामा ८० गुणा बढी पर्यावरणीय तापमान बढाइरहेको छ । अमेरिकाको जियोलोजिकल सर्वेले यसअघि आर्कटिक हाइड्रेटको अस्थिरतालाई वातावरणीय परिवर्तनका ४ सबैभन्दा गम्भीर कारकमध्ये एक भनेको थियो ।
रुसी अनुसन्धान जहाज एकादेमिक केल्दिसमा त्यस क्षेत्रमा गएका अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुको टोलीले बताएअनुसार हाइड्रेटका फोकाहरु अहिले पानीमा हराइरहेका छन् तर तर सतहमा मिथेनको मात्रा यहाँ सामान्यतया अनुमान गरिने भन्दा ४ देखि ८ गुणा बढी भएको पाइएको छ र यो वायुमण्डलमा फैलिइरहेको छ ।
‘अहिलेकै अवस्थामा ग्लोबल वामिङमा यसले गम्भीर अवस्था सृजना गर्ने स्थिति छैन तर चिन्ताको कुरा यो प्रक्रिया अहिले द्रुत गतिमा बढिरहेको छ । पूर्वी साइबेरियन ढलानको मिथेन हाइड्रेट प्रणाली पग्लिएर उत्सर्जन हुन सुरु भएको छ र यो प्रक्रिया निरन्तर भइरहनेछ’ स्वेडेनको स्टकहोम युनिभर्सिटीका वैज्ञानिक ओर्जान गस्टाफ्सनले द गार्डियनसँग भने ।
वैज्ञानिकहरुले आफूहरुले अहिले फेला पारेका तथ्यहरु प्रारम्भिक मात्रै भएको बताएका छन् । मिथेन उत्सर्जनको वास्तविक परिमाण वैज्ञानिकहरु त्यस क्षेत्रबाट नफर्किंदासम्म थाहा हुने छैन । उनीहरुले फर्केर तथ्यांकको विश्लेषण गरेर कुनै वैज्ञानिक जर्नलमा आफ्नो रिपोर्ट प्रकाशित गरेपछि मात्र वास्तविक परिमाणबारे थाहा हुनेछ ।







डिसी नेपाल








Facebook Comment