अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ‘भारत कार्ड’, निर्णायक हुन सक्छन् भारतीय मूलका मतदाता
काठमाडौं। अमेरिकी राष्ट्रपतिको निर्वाचनमा भारतीय मूलका मतदातालाई आकर्षित गर्ने प्रयासमा दुवै उम्मेदवारहरु लागिपरेका छन् । यसको पछिल्लो संस्करणको रुपमा अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीको भारत भ्रमण देखिएको छ । यो भंमणका क्रममा भारत र अमेरिकाबीच बेसिक एक्सचेन्ज एण्ड कोअपरेशन एग्रिमेन्ट (बेका) गरिएको छ । यो सम्झौतालाई बाहिरी रुपमा चीनलाई धेराबन्दीमा पार्ने रणनीतिको रुपमा प्रचार गरिए पनि भित्री रुपमा भने भारतीय मतदातालाई आकर्षिक गर्ने ट्रम्पको प्रयासका रुपमा बुझिएको छ ।
अमेरिकामा कूल मतदाताको केवल १ प्रतिशत हिस्सेदारी हुँदाहुँदै पनि भारतीय मूलका मतदाताले अमेरिकाका कैयौं राज्यमा निर्णायक हैसियत राख्छन् । अमेरिकाका ती राज्यहरुमा भारतीयसहित अन्य आप्रवासी मतदाताको भूमिका निर्णायक देखिएको छ जहाँ दुई उम्मेदवारबीच हारजीतको अन्तर अत्यन्तै कम हुन सक्ने अनुमान गरिएको छ । यी राज्यहरुमा भारतीय मूलका मतदातालाई आकर्षित गर्न सकेमा आफ्नो जीतको आधार बलियो हुने देखेरै राष्ट्रपति ट्रम्पले भारतलाई सहयोग गर्ने रणनीति लिएको विश्लेषण गरिएको छ ।
निर्वाचनका बेला राष्ट्रवादी नारा र सोही अनुसारका काम गर्नु वैश्विक राजनीतिकै आम अभ्यास हो । राष्ट्रवादी नाराकै आधारमा धेरै नेताहरुले चुनाव प्रभावित पारेको पृष्ठभूमिका ट्रम्पले खेलेको ‘ट्रम्पकार्ड’ पनि त्यही हो । एकातिर ट्रम्पले चीनप्रति आक्रामक अभिव्यक्ति दिएर आफूलाई राष्ट्रवादी बनाउने प्रयास गरिरहेका छन् । अर्कोतिर अमेरिकामा आप्रवासीहरुमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाउने खालका नयाँ नियमहरु ल्याएर महामारीको समयमा ‘अमेरिकीका लागि रोजगारी सुरक्षित गरिरहेको’ प्रचार गरिरहेका छन् । यही समयमा भारत र चीनको सम्बन्ध बिग्रिएका बेला चीनविरुद्ध भारतलाई सहयोग गरेर भारतीय मूलका मतदाताको सहानुभूति हासिल गर्ने रणनीति अख्तियार गरेका छन् ।
अमेरिकाका क्यालिफोर्निया, न्यूजर्सी, टेक्सास, भर्जिनिया, न्यूयोर्क र इलिनोय राज्यमा गभर्नर र सिनेटरको निर्वाचनमा भारतीय मतदाताको निर्णायक भूमिका देखिन्छ । यी ६ राज्यका १० संसदीइ सिट र १५ शहरका मेयरको सिटमा भारतीय मूलका मतदाता निर्णायक छन् । यी क्षेत्रमा भारतीय मूलका मतदाताको संख्या ६ प्रतिशतदेखि १८ प्रतिशतसम्म रहेको न्यूयोर्कमा रहेका भारतीइ मूलका पत्रकार मोहम्मद अलीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अलीका अनुसार टेक्सासको परिणाममा भारतीयको सीधा असर देखिनेछ । २०१० देखि २०१७ को बीचमा यहाँ भारतीय मूलका बासिन्दाको संख्या ३८ प्रतिशत बढेको तथ्यांकमा देखिएको छ । पछिल्लो ४ दशकमा यहाँ भारतीय मूलका मतदाताको संख्या दोब्बर भएको छ ।
राष्ट्रपति पदका दुवै उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेन पछिल्लो समय भारतीइ मतदातालाई लोभ्याउन सक्रिय छन् । ट्रम्पले पटक पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो आत्मीय मित्र भनिरहेका छन् । बाइडेनले भारतीय मूलकी कमला ह्यारिसलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाएर भारतीय मूलका मतदाता आकर्षित गर्ने प्रयास गरिरहेका छन् । बाइडेनले ‘हिन्दू फर बाइडेन’ अभियान अन्तर्गत १४ भारतीय भाषामा चुनाव प्रचार सामग्रीसमेत जारी गरेका छन् ।
मिशिगन, पेन्सलभेनिया, ओहायो, फ्लोरिडा, जर्जिया र भिस्कन्सिनमा दुवै उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यी राज्यमा जीतको अन्तर निकै कम हुने अनुमान छ र यही कारण त्यहाँ आप्रवासी मतदाता निर्णायक हुन सक्छन् । फ्लोरिडाको जनसंख्या २ करोड १५ लाख छ जहाँ भारतीय मूलका जनता १ लाख २८ हजार छन् । यी सबैले एउटै उम्मेदवारलाई भोट दिएको खण्डमा यही संख्या हारजीतको लागि निर्णायक हुनेछ । यस पटक २० भन्दा बढी भारतीय मूलका उम्मेदवार सिनेट र कंग्रेसको लागि चुनाव लड्दैछन् । यीमध्ये १० जना संसदीय सिटका लागि लड्दैछन् । अन्य सिनेटका लागि लड्दैछन् ।
पछिल्लो राष्ट्रपतीय बहसमा राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनका लागि भारत, चीन र रुसलाई जिम्मेवार भनेका थिए । लगत्तै ट्रम्पको यो भनाइलाई जो बाइडेनले आफ्नो हतियार बनाए । उनले ट्रम्पले रुस र चीनप्रति गरेको टिप्पणीप्रति कुनै प्रतिक्रिया जनाएनन् तर भारतप्रति गरेको टिप्पणीलाई लिएर ट्रम्पलाई मित्रहरुसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने ज्ञान नभएको टिप्पणी गरे । स्मरणीय छ अमेरिकीहरुमा रुस र चीन आफ्ना मित्र हुन् भन्ने भावना छैन तर भारतीयको हकमा यस्तो सोच लागू हुँदैन । बाइडेनले यही सोचको लाभ लिने प्रयास गरेका थिए ।







डिसी नेपाल








Facebook Comment