दर्जनौं महिलालाई यौनदासी बनाएर शरीरमा आफ्नो नाम खोपिदिन्थे, १२० वर्ष जेल सजाय
काठमाडौं। अमेरिकामा एक यस्तो समूहका नेतालाई १२० वर्षको जेल सजाय दिइएको छ जो महिलाहरुलाई सहयोग गर्ने नाममा उनीहरुलाई यौनदासी बनाउँथे । एनएक्सआइभिएम नामको सेक्स कल्टका नेता केथ रेनिरलाई अमेरिकाको एक अदालतले १२० वर्षको जेल सजाय सुनाएको हो । केथले महिलाहरुलाई भोकभोकै राख्थे, उनीहरुको शरीरमा आफ्नो नाम खोपिदिन्थे र प्रायः ती महिलाहरुलाई यौनकार्यमा संलग्न हुन आदेश दिन्थे ।
मंगलबार अमेरिकाको एक अदालतले केथ रेनिरलाई यौनशोषणका लागि मानव तस्करी र अन्य विभिन्न अपराधको लागि दोषी ठहर गर्दै १२० वर्षको जेल सजाय सुनाएको हो । केथ ६० वर्षका छन् । उनीमाथि १७ लाख डलर जरिवानाको सजाय पनि सुनाइएको छ । केथविरुद्ध उनको समूह एनएक्सआइभिएमका १५ पूर्व सदस्यहरुले अदालतमा बयान दिएका थिए ।
अदालतमा क्यामिला नामकी एक महिलाले आफू १४ वर्षकी हुँदा ४५ वर्षका केथसँग आफ्नो यौनसम्बन्ध सुरु भएको र त्यसपछि करिब १२ वर्षसम्म आफ्नो केथसँग शारीरिक सम्बन्ध रहेको बताइन् । क्यामिलाका अनुसार उनका अन्य २ बहिनीहरुसँग पनि केथको यौन सम्बन्ध रहेको थियो । क्यामिलाका मातापिता पनि केथ रेनिरका अनुयायी थिए । क्यामिलाका पिता र एक बहिनीले आज पनि रेनरमाथि विश्वास गर्ने क्यामिलाले अदालतमा बताइन् ।
न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टअनुसार लरेन साल्जमेन नामकी अर्की एक महिलाले आफू सुरुमा एनएक्सआइभिएम नामको संस्थामा आबद्ध हुँदा आफूलाई पूरै नग्न भएर मसाज टेबलमा सुत्न लगाइएको बताइन् । त्यसपछि आफ्नो शरीरका केथ रेनिरको नाम खोपिएको उनले अदालतमा बताइन् । साल्जमेनका अनुसार यौनदासी बनाएर राखिने महिलाहरुको समूह निकै गोप्य हुन्थ्यो र उनीहरुबाट आजीवन दासीकै रुपमा रहने बचन लिइन्थ्यो ।
बाहिरी रुपमा भने यो कम्पनीले मानिसहरुलाई सहयोग गर्ने बताउँथ्यो र व्यक्तित्व विकासका लागि कार्यशालाहरु आयोजना गर्थ्यो । केथ रेनिरले ती धनी महिलाहरुलाई आफ्नो जालमा फसाउँथे जो आफ्नो जीवनमा ठूलो उद्देश्यको कमी भएको महसुस गर्थे । यस्ता महिलाहरुलाई केथले खुसी दिलाउने भनेर आश्वस्त पार्ने र उनीसँग शारीरिक सम्बन्ध बनाउँथे । एक समयमा यो समूह हलिउडमा पनि लोकप्रिय भएको थियो ।
केथले यो समूहको स्थापना १९९८ मा गरेका थिए र अमेरिका, क्यानडा र मेक्सिकोका १८ हजार व्यक्तिहरुले कम्पनीका विभिन्न कोर्समा भाग लिएका थिए । अदालतमा भएको सुनुवाइको क्रममा इण्डिया अक्सेनबर्ग नामकी महिलाले भनिन् ‘केथ चाहन्थे कि म नग्न भएर उनको प्रतिक्षा गरुँ जस्तो कि म मासुको एक टुक्रा हुँ । म यति दुब्ली भएकी थिएँ कि मेरो महिनावारी हुन बन्द भएको थियो । उनले मलाई बलात्कार गरे ।’ रिपोर्टअनुसार एक पटक यो समूहमा आएपछि समूह छाड्न चाहने वा ठिकसँग यौनदासी बन्न नखोज्ने महिलाहरुलाई यातना दिइन्थ्यो ।







डिसी नेपाल








Facebook Comment