फ्रान्सको चर्चित पत्रिकाले टर्कीका राष्ट्रपतिको आपत्तिजनक कार्टुन छापेपछि फेरि बबाल
काठमाडौं। फ्रान्सको चर्चित पत्रिका चार्ली हेब्दोले प्रकाशन गरेको नयाँ कार्टुनले टर्की आक्रोशित भएको छ । चार्ली हेब्दोमा प्रकाशित कार्टुनमा टर्कीका राष्ट्रपतिले एक महिलाको बुर्का तलबाट उठाएर महिलाको नग्न शरीर हेरिरहेको देखाइएको छ । यसअघि पैगम्बर मोहम्मदको कार्टुनको विषयमा विद्यार्थीसँग चर्चा गरेका कारण पेरिसमा १६ अक्टोबरमा एक शिक्षकको घाँटी छिनाएर हत्या गरिएको थियो । फ्रान्सले शिक्षकको हत्याको घटनालाई इस्लामिक आतंकवाद भनेको थियो त्यसपछि फ्रान्स र टर्कीबीच सम्बन्ध बिग्रिएको थियो ।
बीबीसीको रिपोर्टअनुसार अहिले फ्रान्सको पत्रिकाले टर्कीका राष्ट्रपतिको अपमान गरेपछि यी दुई देशबीच तनाव झनै बढेको छ । पत्रिकाको पछिल्लो कार्टुनमा टर्कीका राष्ट्रपति रेचेप तैय्यप एर्दोगनलाई महिलाको नग्न शरीर हेर्न उनको बुर्का उठाइरहेको देखाइएको छ । यो कार्टुनका विषयमा प्रतिक्रिया दिँदै एर्दोगनका सल्लाहकार फहरेतिन अल्तुनले यो कार्टुन पत्रिकाको तर्फबाट सांस्कृतिक जातीवाद र घृणा देखाउने यो सबैभन्दा खराब प्रकाशन भएको टिप्पणी गरेका छन् ।
यो कार्टुन यही हप्ता चार्ली हेब्दोको प्रथम पृष्ठमा प्रकाशित भएको थियो । तस्वीरमा एर्दोगनलाई पनि शरीरको तल्लो भागमा भित्री वस्त्रमा मात्र देखाइएको छ । यसअघि पैगम्बर मोहम्मदको कार्टुन देखाएका कारण शिक्षकको हत्या भएपछि फ्रान्सका राष्ट्रपति इम्मानुएन म्याक्रोनले अभिव्यक्ति स्वतन्त्रताको समर्थन गरेका थिए । त्यसपछि बंगलादेश, टर्की समेत कैयौं मुस्लिम देश फ्रान्सविरुद्ध भएका छन् ।
टर्कीका राष्ट्रपति एर्दोगनले फ्रान्सका नेताहरुमाथि इस्लामविरोधी एजेण्डा चलाएको आरोप लगाएका छन् । फ्रान्सका राष्ट्रपति म्याक्रोनले भने आफ्नो देशले धर्मनिरपेक्ष परम्परा र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्न जारी राख्ने बताएका छन् । फ्रान्समा अभिव्यक्ति स्वतन्त्रता निकै अहम मुद्दा रहिआएको छ त्यसैले चार्ली हेब्दो जस्ता पत्रिकाले खुलेर कार्टुन प्रकाशित गर्ने गरेका छन् । २०१५ मा पनि पैगम्बर मोहम्मदसँग सम्बन्धित कार्टुन प्रकाशित गरेकै कारण चार्ली हेब्दोको कार्यालयमा जिहादी आक्रमण भएको थियो । आक्रमणमा पत्रिकाका सबैभन्दा चर्चित कार्टुनिस्टसहित १२ जना मारिएका थिए ।







डिसी नेपाल








Facebook Comment