युरोप फेरि लकडाउनतर्फ !

डिसी नेपाल
१३ कार्तिक २०७७ १४:१२
2.1k
Shares

काठमाडौं। विश्वभरी कोरोनाभाइरस संक्रमणका केसहरु एकाएक बढेपछि कैयौं देशहरु पुनः लकडाउनतर्फ फर्किन थालेका छन् । खासगरी युरोपेली देशहरुमा पछिल्लो समय संक्रमणको दर ह्वात्तै बढेको छ । यससँगै युरोपेली देशहरु पुनः लकडाउन लागू गर्ने तयारीमा छन् । जर्मनीले रेष्टुरेण्ट, जीम र थिएटर एक महिनासम्मका लागि बन्द गर्न आदेश दिएको छ र अन्य कैयौं कुरामा प्रतिबन्ध लगाएको जर्मन चान्सलर एन्जेला मर्केलले बुधबार गरेको घोषणालाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । चान्सलर मर्केलले संक्रमण फैलिन नदिन अझै के–कस्ता कडाइ गर्न सकिन्छ भनेर देशका शीर्ष अधिकारीहरुसँग परामर्श गरिरहेकी छिन् ।

फ्रान्समा पनि दैनिक संक्रमितको संख्या ५० हजारभन्दा माथि पुगेपछि नयाँ प्रतिबन्ध लगाइएको द गार्डियनको रिपोर्टमा जनाइएको छ । यहाँ पनि पुनः लकडाउन लागू गरिएको छ । यसअघि राष्ट्रपति इम्मानुएल म्याक्रोनले देशलाई सम्बोधन गर्दै नयाँ नियम र प्रतिबन्ध लगाइन सकिने भएकोले देशवासीलाई यसको लागि तयार रहन भनेका थिए । रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै फ्रान्समा नयाँ प्रतिबन्ध देशव्यापी हुन सक्ने र यो यसअघि लगाइएको लकडाउनजस्तै हुन सक्ने उल्लेख गरेको छ । फ्रान्समा सबैलाई घरमै बस्ने आदेश जारी गर्न सकिने रिपोर्टमा उल्लेख छ । फ्रान्समा अत्यावश्यक कामहरुबाहेक बाहिर निस्किन प्रतिबन्ध लगाइने सम्भावना रहेको बताइएको छ ।

इटलीले यसअघि नै प्रतिबन्धहरु लागू गरिसकेको छ र यी प्रतिबन्धहरु अझै बढाइन सक्ने बताइएको छ । इटलीले बेलुकी ६ बजेदेखि नै रेष्टुरेण्ट, बार र क्याफेहरु बन्द गर्न आदेश दिइसकेको छ । यसको विरोधमा इटलीमा प्रदर्शन भएपछि इटली सरकारले छिटै राहतको प्याकेज घोषणा गर्न लागेको द गार्डियनको रिपोर्टमा उल्लेख छ । द गार्डियनका अनुसार प्रदर्शनपछि प्रधानमन्त्री गिउसेप्पे कोन्टे अत्याधिक दबाबमा परेका छन् तर उनी राहत प्याकेज घोषणा गर्ने तर प्रतिबन्ध जारी राख्ने पक्षमा छन् । सुरुमा इटलीका उत्तरी शहरहरु मिलान र तुरिनबाट सुरु भएको प्रदर्शन अहिले देशैभरी फैलिएर ट्रेभिसो, भेरोना, रोम, नाप्लेस, सालेर्नो, बारी, पालेर्मोसम्म पुगिसकेको रिपोर्टमा जनाइएको छ ।

एक हप्ता पहिले बेलायतमा कोरोनाभाइरसका नयाँ केसहरुमा तीब्रता आएपछि कैयौं शहरहरुमा कडा लकडाउन घोषणा गरिएको छ । बेलायतको नेशनल हेल्थ सर्भिसले संक्रमणलाई नियन्त्रण गर्न वेल्स, ग्रेट म्यान्चेस्टर, लिभरपूल, लंकाशायर, साउथ योर्कशायर र स्कटल्याण्डमा लकडाउन लागू गरिएको छ । यहाँ मानिसहरुलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाइएको छ । बेलायती विज्ञहरुले देशमा दैनिक १ लाख जना संक्रमित भइरहेको र हरेक ९ दिनमा नयाँ संक्रमितको संख्या दोब्बर भएको बताएको मेट्रोको रिपोर्टमा उल्लेख छ । रिपोर्टका अनुसार विज्ञहरुले संक्रमणको दोस्रो लहर गम्भीर अवस्थामा पुगेको बताएका छन् ।

स्पेनले गएको आइतबारदेखि लागू हुनेगरी राष्ट्रव्यापी संकटकाल र रात्रीकालीन कर्फ्यू आदेश जारी गरेको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले कर्फ्यू राती ११ बजेदेखि बिहान ६ बजेसम्म लागू हुने जानकारी दिएका छन् । बीबीसीको एक रिपोर्ट अनुसार कर्फ्यू आदेश संकटकालीन अवस्थाका मापदण्ड अन्तर्गत र्नै पर्नेछ । स्थानीय प्रशासनले समेत आफ्नो क्षेत्रमा यात्रामा प्रतिबन्ध लगाउन सक्ने प्रधानमन्त्री सान्चेजले बताए । प्रधानमन्त्री सान्चेजका अनुसार स्थानीय प्रशासनले आफ्नो अनुकूलतामा रात्रीकालीन कर्फ्यूको समय फेरबदल गर्न सक्नेछन् । प्रधानमन्त्री सान्चेजले अहिले संकटकालीन अवस्था १५ दिनका लागि लागू गरिएको बताउँदै यो प्रस्तावलाई संसदबाट ६ महिनाको लागि बढाउनको लागि प्रस्ताव लैजाने बताएका छन् ।

बीबीसीकै अर्को एक रिपोर्टका अनुसार बेल्जियमले सोमबारदेखि राती ८ बजेपछि कर्फ्यू आदेश जारी गरेको छ । राति ८ बजेदेखि सबै पसलहरु बन्द गर्न आदेश दिइएको छ र घरबाहिर मास्क लगाउन अनिवार्य गरिएको छ । पोर्चुगलले तीन उत्तरी शहरहरुमा स्थानीय लकडाउन लागू गरेको छ । यहाँ पनि मास्क अनिवार्य गरिएको छ । नेदरल्याण्डमा १४ अक्टोबरदेखि ४ हप्ताका लागि आंशिक लकडाउन गरिएको छ । यहाँका रेष्टुरेण्ट, बार र क्याफेहरुले टेक अवे सेवा मात्र दिन पाउनेछन् । ८ बजेपछि पसलहरु बन्द गर्न आदेश दिइएको छ । नागरिकलाई घरमै बस्न आग्रह गरिएको छ ।

चेक रिपब्लिकले भने देशव्यापी लकडाउनको घोषणा गरेको छ । यो दोस्रो पटक देशव्यापी लकडाउन लागू गराउने पहिलो देश हो । ३ नोभेम्बरसम्मका लागि अत्यावश्यक सेवाबाहेक सबै प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक कामबाहेक देशवासीलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । आयरल्याण्डले देशमा आंशिक लकडाउन लागू गरेको छ । ग्रिसले राजधानी एथेन्समा रात्रीकालीन कर्फ्यू आदेश जारी गरेको छ । स्वास्थ्य विशेषज्ञहरुले जाडो महिना सुरु भएपछि भाइरस संक्रमणले अझै भयानक रुप लिन सक्ने चेतावनी दिइसकेका छन् । यसको असर अब युरोपमा देखिन सुरु भएको छ । युरोपमा पछिल्लो एक हप्तामा संक्रमणको केसमा ३७ प्रतिशत वृद्धि भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.