यसपटकको अमेरिकी निर्वाचनको खर्च इतिहासकै सबैभन्दा धेरै
काठमाडौं। २०२० मा भइरहेको अमेरिकी राष्ट्रपतिको निर्वाचन इतिहासकै सबेभन्दा महंगो हुने भएको छ । यो यसअघि भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनभन्दा दोब्बर महंगो हुँदैछ । एक अनुसन्धान संस्थाको अनुमान अनुसार यो निर्वाचनको कूल लागत १४ बिलियन अमेरिकी डलरसम्म पुग्न सक्छ ।
द सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्सका अनुसार अन्तिम महिनामा अनुदानको बाढी नै आएको छ जसले यसअघि गरिएको ११ बिलियन डलरको अनुमान पार भएको छ । सेन्टरले यसअघिका सबै रेकर्डलाई ध्वस्त पार्दै यसपटकको निर्वाचनको खर्च १४ बिलियन डलर हुने बताएको छ ।
डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका आफ्ना उम्मेदवार जो बाइडेन इतिहासकै पहिलो यस्ता उम्मेदवार हुनेछन् जसले दाताहरुबाट १ बिलियन डलर राशी अनुदान हासिल गर्नेछन् । उनको चुनावी अभियानको लागि १४ अक्टोबरसम्म ९३८ मिलियन डलर अनुदान प्राप्त भइसकेको छ जो आफैंमा एक रेकर्ड हो । यो अनुदानले डेमोक्र्याटहरु आक्रामक रुपमा प्रचारप्रसारमा लागेका छन् । हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ५९६ मिलियन डलर जुटाइसकेका छन् ।
सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्सले आफ्नो एक बयानमा भनेको छ ‘महामारीका बीच २०२० मा जो कोहीले धेरै डोनेसन दिइरहेका छन् । जहाँ आम मानिसहरुले सानो रकम दिइरहेका छन् भने अरबपतिहरुले खुलेर पैसा दिइरहेका छन् । सबै रेकर्ड तोड्दै महिलाहरु धेरै डोनेसन दिइरहेका छन् । र, अमेरिकीहरुले यस्ता उम्मेदवारलाई डोनेसन दिइरहेका छन् जो उनीहरुको राज्यमा चुनाव लडिरहेका छैनन् ।’
२०१६ को तुलनामा २०२० को चुनाव दोब्बर महंगो हुनेछ । पछिल्ला २ राष्ट्रपति निर्वाचनभन्दा धेरै खर्च यसपटकको एउटै चुनावमा हुनेछ । सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्स एक स्वतन्त्र र गैरनाफमूलक समूह हो जसले अमेरिकी राजनीतिमा पैसा, चुनाव र सार्वनजिक नीतिमा यसको प्रभावको निगरानी गर्छ ।







डिसी नेपाल








Facebook Comment