भारतीय अन्तरिक्ष अनुसन्धान संगठनलाई अमेरिकामा १ अर्ब २० करोड डलर जरिवाना !

डिसी नेपाल
१५ कार्तिक २०७७ ११:३३
1.9k
Shares

काठमाडौं। अमेरिकाको एक अदालतले भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)को व्यवसायिक शाखा एन्ट्रिक्स कर्पोरेशनलाई करार तोडेको मुद्दामा बैंगलोरको स्टार्टअप देवास मल्टिमिडियालाई १ अर्ब २० करोड डलर जरिवाना तिर्न आदेश दिएको छ । एन्ट्रिक्स कर्पोरेसनले फेब्रुअरी २०११ मा देवाससँग स्याटेलाइट निर्माण र लञ्च गर्ने सम्झौता तोडेको थियो । एन्ट्रिक्स र देवासबीच यो सम्झौता २००५ मा भएको थियो । सम्झौताअनुसार देवासको लागि दुई स्याटेलाइटको निर्माण, उनीहरुको प्रक्षेपण र संचालनको सहमति भएको थियो ।

द हिन्दूको रिपोर्टअनुसार यी स्याटेलाइटको सहयोगमा स्टार्टअप कम्पनी देवास मन्टिमिडियालाई ७० मेगाहर्जको एस ब्याण्ड स्पेक्ट्रम उपलब्ध गराउने योजना थियो । यसको माध्यमबाट देवासले पूरै भारतमा हाइब्रिड स्याटेलाइट र स्थल संचार सेवा उपलब्ध गराउने योजना बनाएको थियो । एन्ट्रिक्स कर्पोरेशनले यो सम्झौता फेब्रुअरी २०११ मा रद्द गरेको थियो । त्यसपछि देवास भारतमा कैयौं कानुनी मञ्चमा गएको थियो । देवास यो मुद्दा लिएर भारतको सर्वोच्च अदालतसम्म पनि पुगेको थियो तर अदालतले यो विषयलाई न्यायाधीकरणमा लैजान निर्देशन दिएको थियो ।

सेप्टेम्बर २०१८ मा देवासले यो मुद्दा अमेरिकी अदालतमा लिएर गएको थियो । मुद्दा अमेरिकाको अदालतमा पुगेपछि एन्ट्रिक्स कर्पोरेशनले यस विरुद्ध न्यायिक क्षेत्रधिकारको मुद्दा उठाएको थियो र यो मुद्दा खारेज गर्न अनुरोध गरेको थियो । तर, अदालतले यो मुद्दा आफ्नो क्षेत्राधिकारभित्र पर्ने र सुनुवाइ गर्न सक्ने बताएको थियो । वाशिङटनको एक जिल्ला अदालतका न्यायाधीश थोमस एल जिल्लीले २७ अक्टोबरमा आफ्नो आदेशमा एन्ट्रिक्सले देवासलाई ५६.२५ करोड क्षतिपूर्ति र यसको ब्याजको भुक्तानी गर्न निर्देशन दिएका थिए । क्षतिपूर्ति र ब्याज जोडेर कूल राशी १ अर्ब २० करोड डलर हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.