दृष्टान्त विडारीका चराका तस्बीर र विमर्श दाहालका कविताले जमाए

डिसी नेपाल
१७ कार्तिक २०७७ ७:३०
44
Shares

काठमाडौं। नेपाल स्रष्टा समाजको आयोजनामा २०७७ कात्तिक १५ गते दशैं विशेष सिर्जनात्मक कार्यक्रम सम्पन्न भयो। कवि तथा गीतकार
दिनेश अधिकारीको विशेष उपस्थितिमा सम्पन्न सो कार्यक्रममा भर्चुअल रूपमा सम्पन्न भएको थियो।

युवा वन्यजन्तु फोटोग्राफर दृष्टान्त बिडारीको विभिन्न जातिका चरा तथा जनावरहरूको तस्बीर प्रदर्शनसँगै प्रारम्भ भएको सो कार्यक्रममा किशोर कवि विमर्श दाहालले दुई कविता सुनाए। फरक प्रस्तुतिका रूपमा कवि तारक धितालले ‘तस्बिर कविता’ देखाएर सुनाएका थिए।

दुई दर्जन बढी सर्जकको सहभागिता रहेको सो कार्यक्रममा गीत, कविता, मुक्तक, गजल समेतका रचना वाचन गरिएको थियो। रचना वाचन गर्ने अन्य कविहरूमा प्रल्हाद पोखरेल, पवन आलोक, डा.पुष्करराज भट्ट, गायत्रीकुमार चापगाईं, नेपाल रानाभाट, जयन्ती सत्याल, श्याम सुन्दर श्रेष्ठ, विनोद नेपाल, दीपक लोहनी, शान्ति प्रियबन्दना, पुष्करराज रेग्मी, दुर्गा शाह बाबा, आयाम कार्की, तिलक पौडेल, सुजन तिमिल्सिना, विनायक पन्त, थिए भने प्राविधिक समस्याका कारण सम्पूर्ण कार्यक्रमका स्रोता भए तापनि भावना खनाललगायतका केही सर्जक आफ्ना
रचना सुनाउन असमर्थ भए।

अतिथि कवि दिनेश अधिकारीले वाचित कविता र प्रदर्शन गरिएका तस्बीरको प्रशंसा गर्दै नेपाली गीतका विषयमा आफ्ना धारणा राखे। उनले गीत लेखनका अनुभव सुनाउँदै सरलता र गेयता गीतको प्राण हो भने। कार्यक्रममा अधिकारीले आफ्ना दुई गीत वाचन गरेका थिए।

समीक्षक तथा कवि महेश पौडेलले दृष्टान्त बिडारीका चराका तस्बिरको विषयमा टिप्पणी गर्दै चरा र चराका ज्ञाता लेखकहरू साहित्यकारका लागि प्रेरणाको विषय हुने गरेको बताए। कार्यक्रममा उनले आफ्नो कविता वाचन गरेका थिए।

कार्यक्रमका बारेमा टिप्पणी गर्दै समाजका उपाध्यक्ष प्रा. डा. गोविन्दमान सिंह कार्कीले नेपाल स्रष्टा समाजले नियमित रुपमा साहित्यिक कायक्रम गर्दै आएको र यो कार्यक्रम भिन्न रुपमा सम्पन्न भएको बताए। भौतिक रुपमा उपस्थित भई प्रत्यक्ष कार्यक्रम गर्न नसकिरहेको अवस्थामा भर्चुअल माध्यमबाट यस्तो कार्यक्रम आयोजना हुनु र वरिष्ठ देखि नयाँ पुस्ताका सर्जकसम्मको सहभागिता रहनु अत्यन्त राम्रो भएको उनको धारणा थियो।

तस्बीर प्रदर्शन देखि तस्बिर कवितासम्म समेटिएकोले यो कार्यक्रम भिन्न भएको भन्दै उहाँले कार्यक्रममा काव्य बिधाका विभिन्न उपविधाका रचना सुन्ने अवसर प्राप्त भएको बताए। साथै, वाचित रचनामा सामाजिक तथा राजनीतिक विषय, समसामयिक परिवेश, प्रकृति एवं कोरोना बारेका सिर्जना समेत सुनिएको बताउँदै विविध विषय समेटिएका रचना वाचन फरक खालको नितान्त नौलो कार्यक्रम भएको धारणा उनको थियो।

समाजका अध्यक्ष विधान आचार्यले कार्यक्रमको अन्त्यमा आफ्नो कविता वाचन गरे। कार्यक्रम सञ्चालनसमेत गरेका आचार्यले यस कार्यक्रमका मुख्य आकर्षणहरू वन्यजन्तु फोटोग्राफर दृष्तान्त बिडारीलाई क्यामेराले कविता लेख्ने सर्जक तथा किशोर कवि विमर्श दाहाललाई शब्दका माध्यमले सुन्दर साहित्यिक चित्र निर्माण गर्ने शिल्पीहरूको संज्ञा दिए। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुले निरन्तरता पाउने तथा कम उमेरमा नै प्रतिभा प्रमाणित गर्ने सर्जकलाई आमन्त्रण गरिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.