ट्रम्पद्वारा सङ्क्रमण विज्ञ फाउचीलाई निस्कासन गर्ने चेतावनी

डिसी नेपाल
१७ कार्तिक २०७७ २०:५९
120
Shares

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारको निर्वाचनबाट आफु पूनः राष्ट्रपतिमा निर्वाचित भएमा सङ्क्रमण रोग विज्ञ डा. एन्थोनी फाउचीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन् ।

सङ्क्रमण रोग न्युनिकरण, नियन्त्रण र व्यवस्थापनसम्वन्धी देशको उच्च जिम्मेवारीमा रहेका फाउचीलाई उनले हटाउने चेतावनी दिएका हुन् ।

अमेरिका व्यापक सङ्क्रामक रोग कोरोनाभाइरसबाट अत्यन्त आक्रान्त बनेको वेला नै उनलाई हटाउने चेतावनी राष्ट्रपति ट्रम्पले दिएको समाचारमा जनाइएको छ ।

गत वसन्त ऋतुदेखि नै फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न राष्ट्रपति ट्रम्प असफल भएको र त्यसमा डा फाउचीको कुरालाई उनले वेवास्ता गर्ने गरेको आरोप लाग्दै आएको थियो ।

डा फाउचीले अमेरिकामा सङ्क्रमण फैलिन नदिन वा सचेतना गर्न र व्यवस्थापन गर्न आफ्नो तर्फबाट सक्दो प्रयासहरु गर्दै आएको भन्दै कतिपयले उनको प्रशंसा गर्ने गरेका छन् ।

कोरोनाभाइरसका कारण अमेरिकामा अहिलेसम्म कम्तीमा दुई लाख ३१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

फ्लोरिडामा आयोजना गरिएको चुनावी कार्यक्रममा सम्वोधन गर्नेक्रममा राष्ट्रपति ट्रम्पले डा फाउचीप्रति असन्तुष्टि व्यक्त गर्दै सङ्क्रमण र त्रास फैलिनुमा डा फाउची पनि दोषी रहेको आरोप लगाए ।

चुनावी कार्यक्रममा आफ्ना समर्थकहरुले डा फाउचीलाई निस्कासन गर्नुपर्ने माग उठाउँदै नारा लगाएपछि राष्ट्रपति ट्रम्पले उनलाई निस्कासन गर्ने चेतावनी दिएका हुन् ।

“यस बारेमा मलाई अरु केही भन्नु पर्दैन, केवल निर्वाचनसम्म पर्खिनुस्, निर्वाचन सकिएपछि मैले तपाईहरुको सुझावलाई कार्यान्वयन गर्नेछु,” उनले आफ्ना हजारौँ समर्थकहरुलाई जवाफ फर्काउँदै भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.