बिभिन्न बहानामा मानव तस्करी, १२ युवतीको उद्धार
काठमाडाैं। कोराना महामारीको विषम परिस्थितिमा पनि विभिन्न बहानामा मानव तस्करी भइरहेको पाइएको छ। यही क्रममा जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा साेमबार फरक-फरक समयमा १२ युवतीहरुको उद्धार भएकाे हाे।
सिराहाको लहान र सर्लाहीमा स्टेज कार्यक्रममा नाच प्रदर्शन गर्ने भनी विभिन्न जिल्लाबाट पर्साका वैकल्पिक नाका हुँदै भारतसम्म पुर्याइएका ११ युवतीहरुको उद्धार गरिएको हो। ती युवतीहरु हाल आफन्त नेपालको संरक्षणमा रहेका छन्।
ती युवतीहरुलाई स्टेज कार्यक्रममा नाच देखाउने र दैनिक २ हजारको दरले रकम दिने भनी काठमाडौंको बालाजुबाट लगिएको थियो। पथलैयाको जंगलमा पुगेपछि उनीहरुलाई समूह विभाजन गरी नेपाल भारत सीमानामा पु-याइएको थियो। सीमा कटाउने क्रममा ४ जनालाई सीमानाकाबाट र अन्य ७ जनालाई भारततर्फबाट उद्धार गरिएको हो ती युवतीहरुसँगै रहेका ती युवक पक्राउ परेका छन्।
यस घटनाको मानव बेचबिखन अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय पर्साद्वारा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ। कोरोना महामारीका कारण बेरोजगारीको चपेटामा परेर नागरिकले अस्तव्यस्त दैनिकी गुजारिरहेको कारण मानव तस्करहरु सक्रिय बनेको आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराई बताउँछन्।
उद्धार गरिएकी एक युवती ले भनिन्, “म सुटिङ युनिटमा नृत्य गर्थें, अहिले सबै काम बन्द छ। दैनिक गुजारा चलाउन कठिन भएकोले यस्तो प्रलोभनमा परियो। झण्डै जीवन बर्बाद भएको थियो। उद्धार भएकोमा खुसी छु।’
उपचारका नाममा तस्करी यसैगरी वीरगंजको राम्रो डाक्टरसँग उपचार गराइदिन्छु भनी पर्सा छिपहरमाई गाउँपालिकामा रहेको वैकल्पिक नाका पार गराउने क्रममा सिन्धुपाल्चोक जिल्लाकी १९ वर्षे किशोरीलाई प्रहरीको सहयोगमा हिजो उद्धार गरी हाल आफन्त नेपालको संरक्षणमा राखिएको आफन्त नेपाल पर्सा संयोजक मनु रानाले बताएकी छन्।







डिसी नेपाल







Facebook Comment