कलाकारको तिहार : महामारीले न उमंग छ, न उल्लास

तर्कबहादुर थापा
१ मंसिर २०७७ ७:२५
332
Shares

काठमाडौं। फूलैफूलको र उज्यालोको पर्व तिहार हो आज। दाजुभाइ तथा दिदी बहिनीहरुको पर्वका रुपमा पनि तिहारलाई लिन सकिन्छ। विषेश गरी दाजुभाइ तथा दिदी बहिनीहरुको प्रेम र सद्भाव प्रगाढ गराउन तिहार पर्वको खुबै ठूलो महत्व छ।

तिहारमा देश विदेश रहेका दाजुभाइ तथा दिदीबहिनीहरु टिका लगाउन घर आउने गर्दछन्। आफ्नो महत्वपूर्ण काम छोडेर भएपनि तिहारका लागि दिदी बहिनीको घरजाने दाजुभाइहरुलाई यो वर्ष कोरोनाले बार लगाएको छ।

सबैको मनमा हर्षोल्लास बोकेर आउने तिहार यो वर्ष भने कोरोनाका कारण आफूमा कुनै हर्ष नभएको नायिका रेखा थापाको भनाइ छ। नेपाली चलचित्र उद्योगकी एक नक्षेत्र मानिने रेखा थापा प्राय सबै मेरो दर्शक स्रोताहरुको घरमा अधेरो भएको बेलो आफ्नो तिहार उल्लासपूर्ण नहुने तर्क दिइन्।

उनले डिसी नेपालसँग भनिन्, ‘मैले यो वर्ष तिहारलाई हर्षोल्लासका साथ नमनाउने सोचेकी छु। आम जनताको घरमा झिलिमिलि नहुँदा मैले कसरी झिलिमिलि बनाउनु। कतिको घरमा चुल्हो जलेको छैन। मैले कसरी सेलरोटी पकाउनु। खासै पहिलेका वर्षहरुमा जस्तो उमंग पनि छैन।’

कोरोना महामारीका कारण नेपालमा ज्यान गुमाउने सम्पूर्णको परिवार सम्झिँदै रेखाले ती परिवारलाई दुःखी बनाउने कोरोना महामारी नसकिएसम्म आफूमा हर्षको कुनै कारण नभएको बताइन्।

मनले कोरोनाको प्रकोप बाहेकका केही कुरा सोच्न सकेको अवस्था छैन। कसरी हामीले तिहारको हर्ष र उल्लासलाई मनमा लिन सक्छौं। हामी कोरोना महामारीलाई परास्त गर्न सकेको खण्डमा अर्को वर्ष त तिहार आउँछ नि।

‘कोरोनाका कारण जति पनि घरमा दुःख परेका छ। त्यो बेलासम्म कसरी खुसि हुन सकिन्छ होला र?’ थापाले भनिन्, ‘यो तिहारमा हामी सबैले कामना गरौं विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना संक्रमण सून्य होस्। अथवा कोरोनाको अन्त्य होस्। अब धेरैले कोरोनाका कारण ज्यान गुमाउन नपरोस् अनि खुसी हुन सकिएला। अर्को वर्षको तिहारमा यो वर्षको समेत खुसी जोडेर मनाउन पाइएला। त्यसैले तिहार मनाए पनि हाम्रो आफ्नै ख्याल गरेर मात्र तिहार मनाउँ। पहिला आफू सुरक्षित बनौं अनि तिहार मनाउँला।’

चलचित्र क्षेत्रकै नायक पुष्प खड्का पनि तिहारमा त्येति खुसी भने देखिँदैनन्। उनी धनगढीमा भएको आफ्नो सुटिङको काम सकाएर काठमाडौं तिहारका लागि पुगेको बताउँछन्। कोरोनाका कारण साथीभाइसँग रमाउन नपाउँदा यो वर्षको तिहार खासै उमंगको नभएको उनको तर्क छ। उनले भने, ‘धनगढी सुटिङ थियो। काम सकाएर आएँ। बहिनी काठमाडौं मै बस्ने भएकाले तिहारका लागि यता आउनु अनिवार्य थियो। यो वर्ष कोरोनाका कारण आफूले चाहेजस्तो तिहार मनाउन भने पाइएको छैन।’

उनले जतिसुकै आधुनिकता तर्फ गएपनि आफ्नो धर्म संस्कार र संस्कृतिबाट आफूलाई टाढा राख्न नसकिने बताए। ‘हामी मोर्डन भएपनि नभएपनि आफ्नो धर्म, संस्कार र संस्कृतिलाई कदापी भुल्नु हुँदैन।’ खड्काले भने, ‘तिहार, दशैं, छट, अन्य यस्ता चाडपर्वहरु हाम्रा संस्कृति हुन। हाम्रो परिचय भन्नुस्, हामीलाई हामी बनाउने शिक्षाको सारतत्व भने पनि धर्म संस्कार र संस्कृति नै हुन्छन। त्यसैले यी चिजहरुबाट टाढा राख्नु भनेको आफूले आफैलाई बिर्सिनु हो।’

नेपाली चलचित्र क्षेत्रका नायक नायिकामात्र हैनन् लोकदोहोरी क्षेत्रका गायक गायिकालाई पनि कोरोनाका कारण यसपालिको दशैं त्यति हर्ष र उल्लासको तिहार नभएजस्तो अनुभव भएको सुनाउँछन्। गायिका टीका पुन र गायक नारायण रायमाझी पनि कोरोनाका कारण आफूले यसपालिको तिहारमा कुनै पनि रहर नजागेको बताउँछन्।

‘तिहारमा मनमा जुन उमंग हुनु पथ्र्यो त्यो छैन।’ गायक नारायण रायमाझीले भने, ‘कोरोनाका कारण सबै नेपालीहरुको मनमा मेरो जस्तै होला झैं लागेको छ। कोरोना संक्रमणको चपेटामा परिहालिन्छ की भनेर पनि बाहिर निस्कने, कतै जाने गरिएको छैन। अब आफै भन्नुस् तिहार कस्तो होला। देउसी भैलो खेल्नु, साथीभाइसँग रमाउनु, झुण्ड बनेर बस्नु, चाडवाडको महत्व यसैमा हैन र? भेटघाट नै नहुने चाडवाडमा रमाईलो हुन्छ भनेर कसरी भन्नु।’

‘हर्ष र उल्लाको पर्व त हो नि, मनमा नभएपछि पर्वले मात्र हुने रहेन्छ,’ गायिका टीका पुनले भनिन्, ‘मनले कोरोनाको प्रकोप बाहेकका केही कुरा सोच्न सकेको अवस्था छैन। कसरी हामीले तिहारको हर्ष र उल्लासलाई मनमा लिन सक्छौं। हामी कोरोना महामारीलाई परास्त गर्न सकेको खण्डमा अर्को वर्ष त तिहार आउँछ नि। दशैंमा पनि त्यस्तै भयो तिहार पनि त्यस्तै हुनेवाला छ। केही रमाइलो छैन।’

कलाकारहरुले एउटै स्वरमा कोरोना संक्रमणबाट बच्न र बचाउन स्वस्थ्य सावधानी अपनाउन अनुरोध गरेका छन्। उनीहरुले अर्को वर्ष हर्षोल्लासका साथ तिहार मनाउने अपेक्षा पनि गरेका छन्। आफू रहे धर्म, संस्कार र संस्कृति रहने बताउँदै उनीहरुले हरेकलाई कोरोनाबाट बच्न र बचाउन सहयोग गर्न अनुरोध समेत गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.