माइनस ५० डिग्री चिसोमा कारमा फसेका युवकको एक हप्तासम्मको संघर्षपछि मृत्यु

डिसी नेपाल
२१ मंसिर २०७७ १४:०७
16.8k
Shares

काठमाडौं। कार लिएर हिँडिरहेका एक किशोरले बाटो बिराएपछि हिमपातको बीचमा फसे । उनले बाँच्नको लागि एक हप्तासम्म संघर्ष गरे । तर, त्यो अवधिमा तापक्राम घटेर माइनस ५० डिग्रीमा झरेपछि अन्ततः ती युवकको ज्यान गएको छ । उनका एक साथी भने ज्यान बचाउन सफल भएका छन् तर बााच्ने साथीको हालत पनि गम्भीर भएको बताइएको छ ।

रसिया टुडेका अनुसार ती युवकको मृत्यु रुसको यकुतिया क्षेत्रमा भएको हो । यो क्षेत्रमा अत्याधिक चिसो हुन्छ । यस क्षेत्रमा हराइरहेका १८ वर्षका युवकको करिब १ हप्तादेखि खोजी भइरहेको थियो । अन्ततः उनको लाश भेटियो । रिपोर्टका अनुसार दुई किशोरहरुले रुसको यकुत्स्कबाट मगादन जानको लागि २८ नोभेम्बरमा यात्रा सुरु गरेका थिए । उनीहरु टोडोटा चेजर कार लिएर हिँडेका थिए ।

यी दुई शहरलाई जोड्ने कालिमा हाइवेलाई निकै खतरनाक मानिन्छ । यो सडकलाई रोड अफ बोन्स अर्थात हड्डीहरुको सडक पनि भनिन्छ । जाँचकताृहरुका अनुसार यो क्षेत्रमा रातको समयमा तापक्रम माइनस ५० डिग्रीसम्म झर्छ । जाँचमा युवकको कारको रेडिएटर पनि फुटेको पाइएको छ ।

खोजीको क्रममा युवकको कार मुख्य हाइवेबाट बाहिर बन्द गरिएको सडकमा भेटिएको छ । कार कसरी मुख्य हाइवे छाडेर बन्द गरिएको सडकमा पुग्यो भन्ने प्रस्ट छैन । जहाँ युवकको कार भेटियो त्यहाँबाट सबैभन्दा नजिकको मानव बस्ती १२० किलोमिटर टाढा पर्छ । जीवित भेटिएका युवक पनि चिसोका कारण बिरामी भएका थिए । उनलाई तत्काल अस्पताल भर्ना गरिएको छ र उनको स्थिति गम्भीर बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.