ट्रम्पद्वारा जर्जियाका गभर्नरलाई चुनावी परिणाम उल्ट्याउन दबाव

डिसी नेपाल
२१ मंसिर २०७७ १४:५९
112
Shares

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्जियाका रिपब्लिकन गभर्नरलाई जो बाइडनको चुनावी जितलाई उल्ट्याउन दबाव दिएका छन्। एउटा श्रृङ्खलाबद्ध ट्वीटमा ट्रम्पले गभर्नर ब्रायन केम्पलाई राज्य संसद्‌को विशेष सत्र बोलाउन आह्वान गरेका छन्।

ट्रम्पले जर्जियामा सिनेटको चुनावी अभियान आरम्भ हुनु केही घण्टाअघि यस्तो आह्वान गरेका हुन्। राष्ट्रपति ट्रम्पले अझै चुनाव हारेको स्वीकारेका छैनन्। उनले कुनै प्रमाणविनै बाइडनले धाँधली गरेर चुनाव जितेको आरोप लगाइरहेका छन्।

उनले विभिन्न राज्यहरूमा कानुनी चुनौती दिएका छन् तर लगभग सबै ती चुनौतीहरू असफल भएका छन्। यो चुनावमा जर्जिया एउटा मुख्य प्रतिस्पर्धात्मक राज्य रहेको थियो।

त्यहाँ बाइडनले झीनो मतान्तरले चुनाव जितेका छन्। सन् १९९२ पछि उक्त राज्यमा डेमोक्र्याटिक उम्मेदवारले चुनाव जितेको यो पहिलोपटक हो। अब त्यहाँ सिनेटमा कब्जा गर्नका लागि दुई पार्टीबीच कडा राजनीतिक प्रतिस्पर्धा हुन गइरहेको छ।

यदि उक्त राज्यमा जनवरीमा हुने पुनः मतदानमा डेमोक्र्याटले जितेमा रिपब्लिकनले अमेरिकी माथिल्लो सदनमा आफ्नो नियन्त्रण गुमाउने छन्।

वाशिङ्टन पोस्टका अनुसार ट्रम्पले केम्पलाई शनिवार बिहान फोन गरेर मतपत्रहरूको हस्ताक्षरको परीक्षण गर्न माग गर्न भनेका थिए। तर त्यस्तो निर्देशन दिने अधिकार नभएका केम्पले उक्त अनुरोधलाई अस्वीकार गरेको स्रोतलाई उल्लेख गर्दै उक्त पत्रिकाले लेखेको छ।

ट्रम्पले चुनावभरि हुलाकबाट गरिने मतदानमा धेरै धाँधली भएको बताउँदै आएका छन्। तर त्यसको कुनै प्रमाण दिन सकेका छैनन्।

ट्विटरमा सवालजबाफ

ट्विटरमा उनले लेखेका छन्, ‘यदि गभर्नर केम्प अथवा विदेशमन्त्रीले हस्ताक्षरको रुजू गर्न दिने हो भने म सजिलै र चाँडै जर्जियामा जित्नेछु। किन यी दुई रिपब्लिकनले हुन्न भनिरहेका छन्’ केम्पले प्रतिउत्तर दिँदै ट्विटरमै आफूले सार्वजनिक रूपमा हस्ताक्षर जाँच्न तीन पटक आह्वान गरेको लेखेका छन्।

त्यसलाई ट्रम्पले उत्तर दिँदै लेखेका छन्, ‘तिम्रा मान्छेहरूले तिमीले भनेकोजस्तो गर्न अस्वीकार गरिरहेका छन्। तिनीहरूले के लुकाइरहेका छन् । कमसेकम संसद्को विशेष सत्र त बोलाउ। त्यो तिमी सजिलै गर्नसक्छौँ।’

पछि ट्रम्पले आफ्नो चुनाव पछिको पहिले र्‍यालीअघि केम्पले धेरै कठिन काम गर्नुपर्नेछ भन्दै अर्को ट्वीट पनि गरेका छन्। त्यसपछि जोर्जियामा भएको चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले अझै पनि आफूले चुनाव जित्नसक्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.