जसले विश्व नेताका दिमाग केलाउँथे

डिसी नेपाल
२२ मंसिर २०७७ १५:२३
116
Shares

बीबीसी। उनी अमेरिकी गुप्तचर संस्था सीआईएका मनोवैज्ञानिक प्रोफाइलर थिए जसको काम सद्दाम हुस्सैन र किम जङ्-इलजस्ता नेताहरूको मनोविज्ञानका बारे अध्ययन गर्नु थियो।

तर पछिल्ला वर्षमा उनको ध्यान आफ्नै देशमा थियो किनभने उनी राष्ट्रपति डोनल्ड ट्रम्पको मनोवृत्तिबारे किताब लेखिरहेका थिए। पूर्व राजनीतिक-मनोवैज्ञानिक एवम् लेखक जेरोल्ड पोस्टको नोभेम्बर महिनाको अन्त्यतिर ८६ वर्षे उमेरमा कोरोनाभाइरससँग जोडिएको जटिलताका कारण मृत्यु भयो। उनको क्षमतालाई अतुलनीय भन्दै उनको सम्झना गरिएको छ।

सन् १९३४ मा न्यू हाभेनमा जन्मिएका पोस्टले यल विश्वविद्यालयमा स्नातक अध्ययन गरेपछि चिकित्साशास्त्र पढे। वासिङ्टन पोस्टका अनुसार त्यसपछि उनले हार्भर्ड मेडिकल स्कूल र न्याश्नल इन्स्चिच्यूट अफ मेडिकल हेल्थमा मनोविज्ञानसम्बन्धी विषयमा स्नातकोत्तर गरे।

उनले सीआईएमा २० वर्षभन्दा बढी समय बिताएका थिए। उक्त निकायमा सन् १९७० को दशकमा उनले व्यक्तित्व र राजनीतिक व्यवहारको समीक्षा गर्ने केन्द्रको स्थापना गरे।

उनले यल विश्वविद्यालयमा भनेका थिए: “हामी विदेशी नेतालाई उनीहरूको सांस्कृतिक र राजनीतिक सन्दर्भसँग जोडेर हेर्छौँ। उनीहरूले व्यक्तिगत द्वन्द्वलाई अन्तराष्ट्रिय मञ्चमा कुन हदसम्म लगिरहेका हुन्छन् भन्ने समीक्षा गर्छौँ।”

उनको एकाइले क्युबाका फिडेल कास्ट्रो, इराकका सद्दाम हुसेन र लिबियाका मुहामर अल-गद्दाफीजस्ता नेताको मनस्थिति केलाएको थियो।

उनीहरूको समीक्षाका आधारमा राष्ट्रपतिहरू र उच्च अधिकारीहरूले वार्ता र सङ्कटका अवस्था सामना गर्ने तयारी गर्थे। पोस्टले लेखेको ‘क्याम्प डेभिड प्रोफाइल्स’ मा इजिप्टका राष्ट्रपति अनवर सदात र इजरेली प्रधानमन्त्री मेलाख्लिम बेगिनको मनस्थितिको समीक्षा गरिएको थियो।

जसले राष्ट्रपति जिमी कार्टरलाई मेरिल्याण्डमा रहेको राष्ट्रपतिको बिदा मनाउने स्थान क्याम्प डेभिडमा उनीहरूसँग भएको वार्ताको रणनीति बनाउन निकै सघाएको बताइन्छ।

फलस्वरूपमा सन् १९७९ मा इजिप्ट-इजरेल शान्ति सम्झौतामा हस्ताक्षर भयो। आफ्नो पुस्तक ‘किपिङ फेथ’ मा उनले लेखेका छन्: “क्याम्प डेभिडपछि बिरलै कुनै मुख्य सम्मेलन भयो होला जहाँ हामीलाई विदेशी नेताहरूको व्यक्तिचित्र र त्यसको समीक्षा नगराइएको होस्।”

उनलाई सन् १९७९ मा इन्टेलिजेन्स मेडल अफ मेरिट प्रदान गरिएको थियो। त्यसपछि उनी जोर्ज वासिङ्टन युनिभर्सिटीको अन्तर्राष्ट्रिय मामिला कार्यक्रममा राजनीतिक-मनोविज्ञान कार्यक्रमको निर्देशक हुन गए।

तर अमेरिकी अधिकारीले पछि उनलाई इराक र सद्दाम हुसैन जोडिएका निर्णयमा सघाउन भन्दै बोलाए। सन् २००२ मा बीबीसीसँग कुरा गर्दा पोस्टले हुसेनको बाल्यकाल निकै उतारचढावपूर्ण भएको बताएका थिए।

हुसेन परिवारले पढाउन अस्वीकार गरेपछि आफ्नो घर छाडेर काकासँग गएर बसे जसले उनको दिमागमा ‘प्रभुताका सपनाहरू भर्ने काम’ गरे। पोस्टले त्यस्ता ठूल्ठूला कल्पनाले हुसेनलाई घृणित आत्मरति बोकेका व्यक्तिमा परिणत गराएको बताएका थिए।

उनले लेखेका १४ वटा पुस्तकमा आतङ्कवादीका दिमागदेखि आफू केन्द्रित नेताहरूका मनोअवस्था केलाइएको छ। उनले अनुमतिबिनै सार्वजनिक व्यक्तित्वका मनोस्वास्थ्यबारे प्रतिक्रिया जनाएको भन्दै आलोचना समेत खेपेका थिए।

तर पोस्टले मौन बस्नु अनैतिक काम हुने तर्क गरेका थिए। सन २०१७ मा उनले द न्यूयोर्कर पत्रिकासँग भनेका थिए: “सजग गराउनु जिम्मेवारी हो।” उनले राष्ट्रपति ट्रम्पबारे भनेका थिए: “नाम लिन नहुने ती व्यक्तिको झोक्किने शैली र योग्यताबारे गम्भीर प्रश्न उठेका छन्।”

सन् २०१९ मा उनले ट्रम्पले चुनाव हारेमा उनले छिट्टै त्यसलाई स्वीकार नगर्ने आकलन गर्न सकिने बताएका थिए। उनले भनेका थिए: “ट्रम्पले चुनावको वैधतालाई नै पनि नस्वीकार्न सक्छन्।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.