कांग्रेसले देशभर सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दै
काठमाडौं। आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रहरीले दुव्र्यवहार गरेपछि बिच्किएको कांग्रेसले आज (सोमबार) देशभर सरकार विरुद्ध प्रदर्शन गर्दैछ।
‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देशभर शक्ति प्रदर्शन गर्न लागेको हो। ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्न लागिएको हो। प्रदर्शन प्रभावकारी बनाउन कांग्रेसले पार्टी पदाधिकारीसहित वरिष्ठ नेता र केन्द्रीय सदस्यलाई जिल्ला पठाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना कहर ख्याल गर्दै प्रदर्शनमा सहभागी हुँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम गर्न अपिल गरेका छन्। अपिलमा उनले ‘प्रदर्शन भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन’ समेत आमनेता कार्यकर्तामा आग्रह गरेका छन्।
अपिलमार्फत् देउवाले प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आए पनि सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले विरोध प्रदर्शन लिएर सडकमा उत्रनुपरेको उल्लेख गरेका छन्।
नेपाली जनतामा सरकारप्रति फैलिएको व्यापक वितृष्णा सरकारका कारण भएको बताउँदै देउवाले नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक भएको देउवाले अपिलमा उल्लेख गरेका छन्।
कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्न गराउन प्रभावकारी स्वयंसेवाका तरुणलाई आग्रह गर्दै सभापति देउवाले जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ? भन्दै प्रश्न गरेका छन्।
त्यसैगरी सभापति देउवाले तनहुँको पछिल्लो घटना होस् या देशका कैयन भागमा भएका उत्पीडन, दमन र विभेदका घटना हरेक नेपाली गम्भीर हुन जरुरी भएको बताएका छन्।







डिसी नेपाल








Facebook Comment