छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा
काठमाडाैं । बालाजु–त्रिशूली–छहरे सडकअन्तर्गतको छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ। तीन ठेक्कामा निर्माण भइरहेको यो सडकमा पछिल्लो समयमा सबैभन्दा बढी भौतिक प्रगति यो खण्डमा देखिएको छ।
जम्मा ११ किमी लम्बाइको सडकमा नौ किमी कालोपत्र भइसकेको बालाजु–त्रिशूली–छहरे सडक योजनाले जनाएको छ। तिहारलगत्तै सडक निर्माणको काम धमाधम भइरहेको योजना प्रमुख जगत प्रजापतिले बताए। काम नियमित हुँदा अबको एक महिनामा सकिने देखिएको छ। ढिकुरेमा जग्गासम्बन्धी विवादका कारण झण्डै २०० मिटरमा निर्माण अघि बढ्न नसके पनि अरु खण्डमा निर्माण सम्पन्न हुने उनले बताए। उनले भने, “ढिकुरेमा मुआब्जाका लागि जग्गाको मूल्य निर्धारण भए पनि स्थानीयवासीले त्यसमा चित्त बुझाउनुभएको छैन।”
त्यो ठाउँलाई छाडेर अन्यत्र सडक कालोपत्रको काम भइरहेको प्रमुख प्रजापतिले बताए। छहरेबाट शुरु गरेर त्रिशूलीतर्फको सडक निर्माण अघि बढाइएको छ। समग्रमा छहरेबाट उता प्रगति राम्रो छ। सात वर्ष पहिले शुरु भएको यो सडकमा निर्माण कम्पनीलाई सडक विभागले अहिलेसम्म चारपटक अवधि थपिसकेको उनले बताए। सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधनअनुसार पछिल्लोपटक गत फागुनमा रुग्ण ठेक्कालाई अन्तिमपटक एक वर्ष अवधि थप भएको थियो। आयोजनाअन्तर्गतका अरु दुई ठेक्कामा अझै अर्काेपटक अवधि थप्न आवेदन आइसकेको उनले बताए। उनले भने, “यो खण्डमा मुआब्जा विवाद भएका ठाउँबाहेक अरु ठाउँमा पुससम्ममा सकिनेछ।”
यो सडकको जम्मा तीन ठेक्कामा निर्माणको काम अघि बढाइएको छ। आयोजनाले बालाजुबाट त्रिशूली ५५ किमी र त्रिशूलीबाट छहरे ११ किमी गरेर यो आयोजनाले ६६ किमी हेरिरहेको छ। विसं २०७०/७१ मा ठेक्का सम्झौता भएको थियो। बालाजु–त्रिशूली सडकको निर्माण भने अझै पनि सुस्त छ। रासस







डिसी नेपाल







Facebook Comment