थप शक्तिशाली बन्दै चिनियाँ राष्ट्रपति शी
काठमाडौं। उत्तरी छिमेकी चीनमा हालै सैन्य विषयमा एक कानूनमा संशोधन भएको छ। जसले राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का प्रमुख शी चिनफिङलाई अझ बलियो बनाएको छ। नयाँ वर्षको शुरुमै राष्ट्रपतिले राष्ट्रिय सुरक्षा कानूनको समीक्षा गर्दै सेनासँग सम्बन्धित महत्वपूर्ण निर्णयका लागि सीपीसीको ‘सेंट्रल मिलिट्री कमीशन’लाई पूर्ण रुपमा अधिकृत बनाए।
यसअघि यो शक्ति चिनियाँ मन्त्रिमण्डल अथवा ‘स्टेट काउन्सिल फ चाइना’सँग थियो। नयाँ व्यवस्थाअनुसार अब सैन्य कार्यवाही वा निर्णयबारे मन्त्रिमण्डलको कुनै हस्तक्षेप हुनेछैन। राष्ट्रपति शी ‘सेंट्रल मिलिट्री कमीशन’का प्रमुख पनि हुन्।
चिनियाँ सेनाका पाँच थियेटर कमाण्ड छन्। जस मध्ये पश्चिमी थियेटर कमाण्ड निकै महत्वपूर्ण मानिन्छ। किनकी यसको स्थापना राष्ट्रपति शीले गरेका थिए। र यसको अधीनमा संवेदनशील क्षेत्र पर्छन्। जस्तै सीचुवान, तिब्बत, निंग्शिया, कुइंगहाई, शिनजियांग, शानशी, यून्नान र चोंगकुइंग।
लण्डनस्थित किंग्स कलेजका प्रोफेसर हर्ष भी पन्तले बीबीसीसँग कुरा गर्दै भनेका छन्, ‘शी सबै अधिकार आफूसँग राख्न सफल भएका छन्। उनले पहिला सेंट्रल मिलिट्री कमीशनको नेतृत्व आफै सम्हाले, पछि यस वर्षको पहिलो दिन नै पुरानो कानूनमा संशोधन गरेर मन्त्रिमण्डललाई सेनाबारे निर्णय लिनबाट वञ्चित गरिदिए।
अब उनी पूर्णमा बलियो तानाशाहका रुपमा स्थापित भएका छन्। उनीबाहेक अरु कोहीसँग पनि कुनै अधिकार छैन। यो कम्युनिस्ट विचारभन्दा फरक देखिएको छ। कम्युनिस्ट पार्टीमा विधान अनुासर एक समूह हुन्छ, जसले नीतिगत निर्णय गर्छ। अब न सीपीसी न मन्त्रिमण्डल कोहीसँग पनि कुनै अधिकार छैन। सबै अधिकार शीले आफ्नो अधीन लिएका छन्।’
चीनको सूचोव विश्वविद्यालयका मिलिट्री क़ानूनका विशेषज्ञ जेंग ज्हिपिंगका अनुसार क़ानूनमा गरिएको यो परिवर्तनपछि अब चीनको राष्ट्रिय सुरक्षा र सेनो परिचालन आदि मामिलामा कुनै नीतिगत निर्णय लिनु चीनको मन्त्रिमण्डलको अधिकार क्षेत्रभन्दा बाहिर भएको छ।
हङकङबाट प्रकाशित हुने पत्रिका साउथ चाइना मोर्निंग पोस्टसँगको कुराकानीमा चिनियाँ सेनाको लेफ्टिनेन्ट कर्णेल रहिसकेका जेंग ज्हिपिंगले भनेका छन्, ‘अब मन्त्रिमण्डल वा स्टेट काउन्सिलमात्र कार्यान्वयन गर्ने संस्था बनेको छ। जबकी राष्ट्रिय सुरक्षाको निर्णय र नीति बनाउने काम सेंट्रल मिलिट्री कमीशनलेमात्र गर्नेछ।’
उता स्वतंत्र राजनीतिक विश्लेषक तथा शंघाई विश्वविद्यालयका कानून र राजनीति शास्त्रका प्रोफेसर चेन दाओयिंगले अब शीको नेतृत्वले सेना र सैन्य बलमा उनकोमात्र सम्पूर्ण अधिकार भएको देखाएको बताएका छन्। (एजेन्सीहरुको सहयोगमा)







डिसी नेपाल








Facebook Comment