डोनाल्ड ट्रम्पले के भनेका थिए जसले पूरै विश्व तरंगित बन्यो ?

डिसी नेपाल
२३ पुष २०७७ १४:२४
13.7k
Shares

काठमाडौं। विश्वकै सबैभन्दा शक्तिशाली देश मानिने अमभेरिकाको सबैभन्दा शक्तिशाली संस्था संसदमा आक्रमण भयो । कैयौंले यो आक्रमणलाई लोकतन्त्रमाथिको ठूलो आक्रमणको रुपमा टिप्पणी गरे । वाशिङटनमा भएको यो हंगामामा मारिनेको संख्या ४ पुगिसकेको छ । दर्जनौं गिरफ्तार भएका छन् । विश्वकै शक्तिशाली देशको लोकतन्त्रमाथि भएको यो आक्रमणले पूरै विश्व तरंगित बनेको छ । विश्वका कैयौं शक्तिशाली नेताहरुले यो आक्रमणको निन्दा गरेका छन् । यो हिंसापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निशानामा परेका छन् ।

आक्रमण राष्ट्रपति ट्रम्पका समर्थकले गरेका थिए त्यसैले ट्रम्पमाथि समर्थकहरुलाई उक्साएको आरोप लागेको छ । खासमा ट्रम्पले बुधबार एक कार्यक्रममा सम्बोधन गर्दै निर्वाचनमा धाँधली भएको भन्दै संसद भवन क्यापिटल हिलतर्फ मार्च निकाल्ने भनेका थिए । ट्रम्पले यस्तो भनेपछि ह्वाइट हाउसको सडकमा ट्रम्प समर्थकको जुलुस सुरु भएको थियो । त्यसपछि ट्रम्प समर्थकको भीडले हिंसात्मक क्रियाकलाप गर्दै संसद भवन क्यापिटल हिलमा आक्रमण गरेका थिए ।

ट्रम्पले आफ्नो सम्बोधनमा भनेका थिए ‘अमेरिकाको निर्वाचनमा धाँधली भएको छ । हामीबाट निर्वाचन खोस्ने प्रयास गरिँदैछ । यो र्यालीपनि हामी क्यापिटल हिलतर्फ बढ्नेछौं । म पनि तपाइँहरुको साथमै रहनेछु । हामी आफ्ना कंग्रेसम्यान (तल्लो सदनका सांसद), सिनेटर (माथिल्लो सदनका सांसद) हरुको मनोबल बढाउनेछौं । तर केही मानिसहरुलाई यसले खुसी हुने छैन किनकि देशलाई कमजोरीको साथमा फिर्ता लिन सकिँदैन । हामी कहिल्यै हार मान्ने छैनौं, हामी सजिलै हट्ने छैनौं । यदि चोरी भइरहेको छ भने तपाई पछि हट्न सक्नुहुन्न । तपाइँहरुले देश बनाउनुभएको हो तपाइँहरुलाई कसैले हटाउन सक्दैन ।’

अमेरिकी मिडिया र नेताहरुले ट्रम्पको यही बयानले समर्थकहरुलाई उक्साएको मानेका छन् । जब वाशिङटनमा हिंसा बढ्यो र सिनेटमा समर्थकले कब्जा गरे त्यसपछि डोनाल्ड ट्रम्पले एक मिनेटको भिडियो ट्वीटरमा शेयर गरे । भिडियोमा ट्रम्पले समर्थकहरुलाई घर फर्किन अपिल गरेका थिए । तर, शान्तिको अपिलका साथमा ट्रम्पले फेरि पनि चुनावमा धाँधली भएको र आफूलाई जबरजस्ती हराइएको दावी गरे ।

अमेरिकामा हिंसा बढ्न लागेपछि ट्वीटर, फेसबुक, इन्स्टाग्राम, युट्युबले ट्रम्पमाथि कारवाही गरेका छन् । सबैले डोनाल्ड ट्रम्पको खाता लक गरे । चुनावमा धाँधली भएको दावी गरिएका ट्वीट र पोस्टहरु हटाइए । यसका अलावा ट्वीटरले वाशिङटन र आसपासका क्षेत्रमा पोस्ट रिच कम गरेको छ ताकि हिंसा भड्काउने खालका कुरा छिटो फैलिन नपाउन् । फेसबुक र ट्वीटरले ट्रम्पको तर्फबाट फर्जी दावी नरोकिए उनको खाता सधैंको लागि बन्द गर्ने चेतावनी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.