भारतबाट कोरोनाविरुद्धको खोप ल्याउने तयारी

डिसी नेपाल
२४ पुष २०७७ १८:२५
160
Shares

काठमाडौं। कोरोनाविरुद्धको खोप भारतबाट ल्याउन नेपालले तयारी गरेको छ। भारतलाई यसअघि नै कूटनीतिक नोटमार्फत खोपका लागि सहयोग मागेको नेपालले खोप विकास गरिरहेको कम्पनीसँग पनि छलफल अघि बढाएको छ।

दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले खोपका लागि भारतीय कम्पनीहरुसँग छलफल गरिरहेका छन्। दिल्लीस्थित दूतावासका अनुसार शुक्रबार राजदूत आचार्यले कोभिशिल्ड खोप विकास गरेको सिरम इन्टिट्यूट अफ इण्डियाका महाप्रवबन्धक प्रासेन अदयसँग छलफल गरेका छन्। राजदूत आचार्य र सिरमका महाप्रबन्धकबीच भिडियो कन्फ्रेन्सका माध्यमबाट नेपालमा खोप उपलब्ध गराउनेबारे छलफल भएको दूतावासले जनाएको छ। तर, सिरमले के जवाफ दियो भन्ने विषयमा भने दूतावासले केही खुलाएको छैन।

भारतमा आपतकालिन उपयोगका लागि सिरमले विकास गरेको कोभिशिल्डले अनुमति पाइसकेको छ। तर, भारत सरकारले खोप निर्यातमा भने प्रतिबन्ध लगाएको छ। त्यसैले नेपालले भारतबाट कसरी खोप ल्याउँछ भन्ने विषय यकिन भएको छैन।

तर, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको मिति सार्वजनिक भएपछि राजदूत आचार्यले गरेको यो छलफलले परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा केही सहमति बन्न सक्ने सम्भावना बढेको जानकारहरुले बताएका छन्। भारतमा अनुमति भएको कोभिशिल्ड ७० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दावी गरिएको छ। तर, भारतमा विकसित खोपबारे भारतमै विवादसमेत भइरहेको छ। खोपको परीक्षणबारे भारतमा प्रश्न उठाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.