अमेरिकी राष्ट्रपतिको खातालाई ट्विटरले स्थायी रूपमै किन निलम्बन गर्‍यो

डिसी नेपाल
२५ पुष २०७७ ९:५६
124
Shares

बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर खाता स्थायी रूपमा निलम्बित भएको छ। सामाजिक सञ्जालसम्बन्धी उक्त कम्पनीले “हिंसा थप उक्साउने खतरा” रहेको भन्दै उनको खाता निलम्बन गरेको हो।

ट्विटरले “डोनल्ड ट्रम्पको खाताबाट हालै गरिएका ट्वीटको समीक्षापछि” उक्त निर्णय लिइएको जनाएको छ। केही सांसद र चर्चित व्यक्तिहरूले ट्रम्पको खातामाथि प्रतिबन्ध लगाउन वर्षौंदेखि माग गर्दै आएका थिए।

बिहीवार पूर्व राष्ट्रपति बराक ओबामाकी श्रीमती मिसेल ओबामाले ट्विटरले ट्रम्पको “राक्षसी व्यवहार” माथि रोक लगाउनुपर्ने र उनलाई स्थायी रूपमा निष्कासित गर्नुपर्ने बताएकी थिइन्।

ट्रम्पमाथिको प्रतिबन्धमा प्रतिक्रिया जनाउँदै सन् २०२० को चुनावी अभियानका सल्लाहकार जसोन मिलरले ट्वीट गरेका छन्: “घिनलाग्दो… यदि फेरि यिनीहरू आउँदैनन् भन्ने लाग्छ भने, तपाईँ गलत हुनुहुन्छ।”

ट्रम्पले क्यापिटल हिलमा हमला गर्नेलाई “देशभक्त” भनेपछि उनको खाता बुधवार १२ घन्टाका लागि अवरुद्ध गरिएको थियो। अमेरिकी संसद्ले राष्ट्रपतीय चुनावमा जो बाइडनको जितलाई औपचारिकता प्रदान गर्न प्रयास गर्दा ट्रम्पका सयौँ समर्थकहरू क्यापिटल भवनमा प्रवेश गरेका थिए।

हिंसा भड्किँदा चारजना सर्वसाधारण र एक प्रहरी अधिकारीले ज्यान समेत गुमाएका थिए। ट्वीटरले यदि ट्रम्पले ट्वीटरको नियमहरू पुन: उल्लङ्घन गरे उनीमाथि “स्थायी” प्रतिबन्ध लगाउने भन्दै चेतावनी दिएको थियो।

तर पुन: ट्विटरमा पहुँच अनुमति दिइएपछि शुक्रवार ट्रम्पले दुईवटा ट्वीट गरे र तिनै ट्वीटलाई कम्पनीले बन्द गर्ने अन्तिम कारण भएको बताएको छ। उनका ट्वीटलाई “राष्ट्रपति ट्रम्प ‘आदेशात्मक सङ्क्रमण’ सहज पार्ने योजनामा छैनन् भन्ने थप इङ्गित गरिएको” जनाएको छ।

ट्विटरले @realDonaldTrump खाता हटाएपछि ट्रम्पले अमेरिकी राष्ट्रपतिको आधिकारिक खाता @Potus बाट ट्वीट गर्दै “भविष्यमा आफ्नै त्यस्तै खालको सञ्जाल बनाउने सम्भाब्यताबारे हेरिहेको” बताएका छन्। तर उक्त ट्वीट राख्ने बितिक्कै त्यसलाई हटाइएको थियो।

शुक्रवार ट्विटरले ट्रम्पका दुई बफादारहरू: पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिन र महान्यायाधिवक्ता सिड्नी पावेललाई हटाएको थियो।

बिहीवार, फेसबुकले ट्रम्पको खातालाई “अनिश्चितकाल”का लागि निलम्बित गरेको थियो। त्यसबाहेक गेम खेल्ने चर्चित साइट ट्वीचले पनि ट्रम्पको च्यानलमाथि अनिश्चित प्रतिबन्ध लगाएको थियो। ट्वीचमार्फत् ट्रम्पका र्‍यालीका कार्यक्रम प्रसारण हुने गर्थ्यो। त्यस्तै स्न्यापच्याटले पनि प्रतिबन्ध लगाएको थियो।

ट्रम्पले ट्विटरलाई आफ्ना विरोधीको आलोचना गर्न, समर्थकहरूलाई उक्साउन, अधिकारीहरूलाई बर्खास्त गर्ने लगायतमा प्रयोग गर्ने गर्थे। आलोचकहरूले उनका त्यस्ता ट्वीटहरूले गलत सूचना दिइरहेको बताए पनि ट्विटरले उनलाई मूलधारका सञ्चारमाध्यम छोडेर आफ्ना करिब ९ करोड समर्थकहरूसँग जोडिन सहयोग पुर्‍याएको थियो।

उनका ट्वीटहरूमा बेलाबेला गल्तीहरू पनि देखिन्थे र कहिलेकाहीँ त्यसलाई फलोअरहरूले गलत व्याख्या पनि गर्ने गर्थे। सन् २०१७ मा न्याय मन्त्रालयले ट्रम्पका ट्वीटहरू “अमेरिकी राष्ट्रपतिका आधिकारिक अभिव्यक्तिहरू” भएको बताएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.