अमेरिकी–ताइवानी अधिकारीहरुमाथि लगाइएको कडाइ हटाइँदै, चीन आक्रोशित हुने आशंका

डिसी नेपाल
२६ पुष २०७७ १०:५२
148
Shares

काठमाडौं। अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिकी अधिकारी र उनीहरुका ताइवानी समकक्षीबीचको सम्पर्कमा गरिएको कडाइ हटाउने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्त्य हुँदै गर्दा पोम्पियोको यो कदमले चीनलाई आक्रोशित बनाउने र बेइजिङ र वाशिङटनबीच तनाव अझै बढाउने आशंका गरिएको द गार्डियनको रिपोर्टमा उल्लेख छ ।

चीनले ताइवानलाई आफ्नै हिस्सा दावी गर्दै आएको छ र अमेरिकासँगको आफ्नो सम्बन्धमा ताइवानलाई सबैभन्दा संवेदनशील विषय बताउँदै आएको छ । अन्य कैयौं देशहरुजस्तै अमेरिकाको पनि ताइवानसँग आधिकारिक कूटनैतिक सम्बन्ध छैन तर ट्रम्प प्रशासनले ताइवानलाई हतियारसहित अन्य विभिन्न विषयमा सहयोग गरेको छ । अमेरिकाले ताइवानलाई चीनतर्फबाट हुन सक्ने दबाब झेल्न सघाउ होस् भनेर सहयोग गरेको बताएको छ ।

एक वक्तव्यमा पोम्पियोले अमेरिकाले आफ्ना कूटनीतिज्ञ, सेवा सदस्य र अन्य अधिकारीहरुलाई ताइवानी समकक्षीहरुसँग प्रत्यक्ष अन्तरक्रियामा विभिन्न किसिमले रोक लगाउँदै आएकोमा अब आफूले यी सबै प्रतिबन्धहरु हटाउन लागेको घोषणा गरेका छन् । अमेरिकाको वाशिङटनमा रहेको ताइपेइ आर्थिक तथा सांस्कृतिक प्रतिनिधिको कार्यालयले यो कदमले अमेरिकाको ताइवानसँगको सम्बन्धको शक्ति र गहिराइ देखिएको बताएको छ । यो कार्यालयले अमेरिकामा ताइवानको अनाधिकारिक दूतावासको रुपमा काम गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.