ट्रम्पविरुद्ध महाभियोग परित, दुई पटक महाभियोग भोग्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति

डिसी नेपाल
१ माघ २०७७ ६:०७
568
Shares

बीबीसी। राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन्। उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव केहीबेर अघि त्यहाँको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो।

गत बुधवार अमेरिकी संसद् भवनमा हूलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा उनीविरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए।

सार्वजनिक मत परिणाम अनुसार महाभियोग प्रस्तावको पक्षमा २३२ मत परेको छ। महाभियोग पारित हुन २१७ मत आवश्यक थियो। तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २२२ जना सदस्य छन्।

तर ट्रम्पको दलका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिइन्। विपक्षमा १९७ जना रिपब्लिकन सांसद देखिए।

तल्लो सदनले सन् २०२० मा पनि उनी विरुद्ध महाभियोग पारित गरेको थियो। तर त्यसबेला एकजना पनि रिपब्लिकनले महाभियोगमा साथ दिएका थिएनन्।

अब उक्त प्रस्ताव माथिल्लो सिनेटबाट पनि पारित हुनुपर्छ। त्यसको निम्ति दुई तिहाइ बहुमत आवश्यक हुन्छ। त्यो सङ्ख्या पुर्‍याउन ट्रम्पको दलका सिनेटरहरूको पनि साथ आवश्यक हुने बताइएको छ।

कम्तीमा १७ जना रिपब्लिकन सिनेटरहरू ट्रम्पको विपक्ष र महाभियोगको पक्षमा उभिनु पर्नेछ। न्यूयोर्क टाइम्सले २० जना रिपब्लिकन सिनेटहरू ट्रम्पलाई दोषी ठहर्‍याउने पक्षमा रहेको उल्लेख गरेको छ।

हो, पाउँछन्। किन कि महाभियोगले मात्र उनलाई राष्ट्रपतिको उम्मेद्वार बन्न रोक्दैन। त्यै पनि सिनेटमा हुने सुनुवाइले उनीमाथि लगाइएको आरोप पुष्टि गर्नै बाँकी छ।

दुई तिहाइ बहुमत आवश्यक हुने भएकाले डेमोक्र्याटहरूकै बलमा मात्र सिनेटमा आरोप पुष्टि हुन सम्भव हुनेछैन। तर रिपब्लिकनहरूको साथ पाएर त्यो पारित भयो भने पनि उम्मेद्वार बन्न नदिन अर्को मतदान गराउनु पर्ने हुन्छ।

ट्रम्पले सन् २०२४ मा उम्मेद्वार हुने सङ्केत दिएकाले त्यसबारे चासो पाइन्छ। कतिपय रिपब्लिकनहरूले महाभियोग नलगाएर राष्ट्रपति बन्न रोक्ने उपाय अपनाउनु पर्ने धारणा पनि राखेका थिए।

यसअघि तल्लो सदनले संविधानको एउटा प्रावधानअनुसार ट्रम्पलाई पदमुक्त गर्न उपराष्ट्रपति माइक पेन्सलाई सहयोगको आग्रह गर्ने प्रस्ताव पारित गरेको थियो। पेन्सले त्यो प्रस्ताव अस्वीकार गरिदिएपछि डेमोक्र्याटहरू महाभियोगको प्रक्रियामा अघि बढेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.