मुलुकलाई संकटबाट निकास दिन प्रतिनिधिसभा विघटन: सञ्चारमन्त्री गुरुङ
काठमाडौं। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई संकटबाट निकास दिन प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गर्नु परेको बताएका छन्।
मन्त्री गुरुङले ताजा जनादेश लिएर मुलुकलाई सही निकास दिन घोषणा गरिएको निर्वाचन प्रतिगामी नभई अग्रगामी भएको पनि स्पष्ट पारेका थिए।
‘मुलुकलाई संकटबाट निकास दिन ताजा जनादेश लिनका लागि प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गरिएको हो,’ नमस्ते ख्वप टेलिभिजनले बिहीबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, ‘जनताको ताजा जनादेश लिएर मुलुकलाई निकास दिन सम्माननीय प्रधानमन्त्रीज्यूले चाल्नुभएको यस कदम प्रतिगामी नभई अग्रगामी हो।’
मन्त्री गुरुङले ताजा जनादेशमा जाने सरकारको निर्णय सही भए नभएको छुुट्याउने काम जनताले निर्वाचनबाटै गर्ने पनि बताए।
लोकतान्त्रिक गणतन्त्रमा ताजा जनादेशमा जाने कुरा असंवैधानिक, प्रतिगामी हुनै नसक्ने मन्त्री गुरुङको तर्क थियो।
उनले जनतालाई सही सूचना दिने गरी सञ्चार प्रवाह गर्न सञ्चार माध्यामहरुलाई आग्रह गरे। मन्त्री गुरुङले सञ्चारमैत्री नीति निर्माणमा आफूू केन्द्रित भएको पनि दोहोर्याए।
त्यसका लागि आफूले सरोकारवाला निकायहरुसँगको सहकार्यमा जोड दिएको उनको भनाइ थियो। मन्त्री गुरुङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका कारण सञ्चार क्षेत्रलगायतका कुनै पनि व्यवसायमा नकारात्मक असर नपर्ने दावी पनि गरे।







डिसी नेपाल








Facebook Comment