चुनावमा जान देउवालाई दबाव, पुनर्स्थापनाको पक्षमा पौडेल
फाइल तस्वीर
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि संसद पुनर्स्थापना कि निर्वाचन भन्ने विषयमा अहिले मुलुक दुई ध्रुवमा विभाजित बनेको छ।
प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटउपर सर्वोच्च अदालतमा सुनुवाई जारी छ। अदालतका विचाराधीन मुद्दाका विषयमा अहिले कतिपय दलहरुले सडक आन्दोलन गरिरहेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा बाहेक अन्य दलले संसद विघटनलाई असंवैधानिक भन्दै पुनस्र्थापनाको माग गरेका छन्। तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा भने संसद पुनर्स्थापना कि निर्वाचन भन्ने विषयमा मतभेद छ।
सभापति शेरबहादुर देउवा निर्वाचनमा जानुपर्ने पक्षमा छन्। प्रधानमन्त्रीले संसद विघटन गरेपछि सभापति देउवाको निवास बुढानिलकण्ठमा विभिन्न जिल्लाबाट आउने नेता,कार्यकर्ताहरुको भीड लाग्ने गरेको छ।
कम्युनिष्ट सरकारको व्यवहारबाट जनता आजित भएका छन्। कांग्रेस नेतृत्वको सरकारले मुलुक र जनताको हितमा काम गर्न सक्छ। त्यसैले अहिलेको अवसरलाई सदुपयोग गर्नुपर्छ भन्ने उहाँहरुको सुझाव हुने गरेको छ।
देउवा निवास पुग्ने अधिकांश नेता कार्यकर्ताले देउवालाई चुनावमा जान सुझाव दिने गरेका छन्। ‘प्रमुख प्रतिपक्षको रुपमा अहिले निर्वाचनमा जाँदा सिंगो मुलुक र पार्टीलाई फाइदा हुन्छ भन्ने सुझाव धेरै नेता कार्यकर्ताबाट आउने गरेको छ,’ देउवा निकट स्रोतले भन्यो, ‘कम्युनिष्ट सरकारको व्यवहारबाट जनता आजित भएका छन्। कांग्रेस नेतृत्वको सरकारले मुलुक र जनताको हितमा काम गर्न सक्छ। त्यसैले अहिलेको अवसरलाई सदुपयोग गर्नुपर्छ भन्ने उहाँहरुको सुझाव हुने गरेको छ।’
सभापति देउवालाई चुनावमा जान सुझाव दिनेमात्र नभइ टिकट माग्नेको पनि उत्तिकै भीड लाग्ने गरेको छ। आफूले टिकट पाए आगामी निर्वाचनमा जित हासिल हुने भन्दै सभापतिलाई आश्वस्त पार्ने काम हुन थालेको छ।
स्रोतका अनुसार आफूलाई भेट्न आउने नेता कार्यकर्तालाई सभापति देउवाले प्रतिनिधिसभा पुनस्र्थापना भए कांग्रेस तेस्रो दल बन्ने र अहिले पाइरहेको हैसियत पनि गुमाउने भन्दै अब कांग्रेस निर्वाचनको पक्षमा लाग्न सुझाव दिने गरेका छन्।
तर कांग्रेसभित्रै वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने संसद पुनर्स्थापनाको पक्षमा छ। सभापति देउवालाई जस्तै वरिष्ठ नेता पौडेललाई भेट्न जाने कार्यकर्तालाई पौडेलले चुनावमै जाने भएपनि प्रतिनिधिसभा पुनर्स्थापना पछि जानु पर्छ भन्दै कार्यकर्तालाई कन्भिन्स गर्ने गरेका छन्।
पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीका अनुसार पौडेल निवासमा दुवै थरी विचार भएका नेता कार्यकर्ता जाने गर्छन्। तर चुनावमा जानुपर्छ भन्ने कार्यकर्तालाई पौडेलले अहिलेको अवस्थामा चुनावमा जाँदा मुलुकमा आर्थिक भार पर्ने, गलत नजिर स्थापना हुने भन्दै संसद पुनर्स्थापनाको पक्षमा लाग्नुपर्ने बताउने गरेका छन्।
यद्यपी कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै देशव्यापी आन्दोलन गरिरहेको छ। कांग्रेसको दोस्रो चरणको आन्दोलन अहिले पनि जारी छ।







डिसी नेपाल








Facebook Comment