पदमा नरहँदा पनि महाअभियोगबाट बच्दैनन् ट्रम्प, दोषी ठहरिए अर्को चुनाव लड्न नपाउने

डिसी नेपाल
१० माघ २०७७ १५:३०
112
Shares

काठमाडौं। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पदमा रहेकै बेला उनीमाथि महाअभियोगको प्रस्ताव ल्याइएको थियो । संसदको तल्लो सदनले महाअभियोग प्रस्ताव पारित पनि गरेको थियो । त्यसपछि त्यो प्रस्ताव माथिल्लो सदन सिनेटले पारित गर्नुपर्ने थियो । यही बीचमा ट्रम्पको कार्यकाल सकियो र उनी राष्ट्रपति दलबाट बाहिरिए ।

धेरैलाई लाग्न सक्छ पदमै नरहेपछि उनीमाथि लगाइएको महाअभियोग प्रस्ताव पनि स्वतः खारेज भयो । तर, त्यसो होइन । पदमा नरहे पनि ट्रम्पमाथि लगाइएको महाअभियोगको प्रस्तावमाथि कारवाही अगाडि बढ्छ र यदि ट्रम्प दोषी ठहरिए भने उनी अर्कोपटक राष्ट्रपतिको उम्मेदवार हुन पाउने छैनन् । महाअभियोग प्रस्तावमाथि फेब्रुअरीको ८ तारिखपछि कारवाही अगाडि बढ्नेछ । त्यसभन्दा पहिलेको समय बाइडेनको मन्त्रिमण्डलमाथिको सुनुवाइ हुनेछ ।

६ जनवरीमा अमेरिकी संसद भवनमा ट्रम्प समर्थकले हिंसा गरेका थिए । यसमा एक महिला र एक प्रहरी अधिकारीसहित ५ जनाको ज्यान गएको थियो । ट्रम्पमाथि आफ्ना समर्थकलाई उक्साएको आरोप छ । त्यसपछि उनीमाथि महाअभियोग लगाउने निर्णय गरिएको थियो । फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार अर्को हप्ता महाअभियोग सम्बन्धि सबै दस्तावेजहरु सिनेटसमक्ष पेश गरिनेछन् । सिनेटरहरु नै न्यायाधीशको भूमिकामा रहनेछन् र यसको लागि उनीहरुले शथप ग्रहण गर्नुपर्नेछ । राजनैतिक विचारधाराको आधारमा भेदभाव नहोस् भनेर यस्तो गरिन्छ ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले महाभियोगसम्बन्धी अभियोग पत्र पढेर सुनाउनेछिन् । सिनेटको कारवाही अर्को हप्ता सुरु हुनेछ । त्यसपछि सिनेटरहरुले ज्यूरी सदस्य अर्थात न्यायाधीशको रुपमा शपथ लिनेछन् । महाअभियोगको प्रक्रिया भने त्यसको २ हप्तापछि मात्रै सुरु हुनेछ । त्यसको लागि मतदान पनि हुनेछ । डोनाल्ड ट्रम्प अमेरिकाका एकमात्र यस्ता राष्ट्रपति हुन् जसलाई २ पटक महाअभियोग लगाइएको छ । अघिल्लो पटक उनी बचेका थिए । तर, यसपटक तल्लो सदनमा आफ्नै पार्टीका १० जना सांसदले ट्रम्पको पक्ष लिएका थिएनन् । त्यसैले अहिले ट्रम्पमाथि दोषी ठहरिने खतरा बढी भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *