कोरोना सङ्क्रमित जोडीको भेन्टिलेटरमा राख्नुअघि अस्पतालमा विवाह

डिसी नेपाल
१० माघ २०७७ १८:५३
136
Shares

बीबीसी । कोभिड-१९ बाट सङ्क्रमित भएका कारण अस्पताल पुर्‍याइएका एक जोडीले पुरुषलाई बेहोस बनाई भेन्टिलेटरमा राखिनुअघि विवाह गरेका छन्।

३१ वर्षकी एलिजाबेथ कर र ३६ वर्षका साइमन ओ ब्रायनको श्वासप्रश्वासमा समस्या देखिएसँगै ज्यानुअरी ९ तारिखमा यूकेस्थित मिल्टन कीन्स युनिभर्सिटी अस्पताल पुर्‍याइएको थियो।

अस्पताल भर्ना गरिएका पुरुषको अवस्था बिग्रँदै गएपछि त्यहाँका कर्मचारीहरूले विवाहको प्रबन्ध मिलाएका थिए । वैवाहिक कार्यक्रम सम्पन्न नहुँदासम्म उनीहरूले ओ ब्रायनलाई एउटा ट्युबबाट सास फेर्न सहज पारिदिएका थिए। उक्त दम्पती हाल निको हुने क्रममा छ।

पेसाले नर्स कर र ओ ब्रायनले आगामी जुन महिनामा विवाह गर्ने योजना बनाएका थिए। तर उनीहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएसँगै अक्सिजनको तह निकै कम पुगेपछि अस्पताल दौडाइएको थियो।

सुरुमा उनीहरूलाई फरक वार्डमा राखिएको थियो। तर करले नर्स हाना क्याननलाई आफूहरूको विवाह गर्ने योजना सुनाएपछि ती नर्सले अस्पतालमा विवाह गर्ने विषयमा सोधेकी थिइन्। करका अनुसार उनलाई विवाह गर्ने यो नै अन्तिम मौका हुनसक्ने बताइएको थियो।

“यी त्यस्ता शब्द हुन जुन म फेरि कहिल्यै सुन्न चाहन्न,” उनले भनिन। अस्पतालका कर्मचारीहरूले विवाहका लागि आवश्यक अनुमति लिने प्रयास गरिरहेका बेला ओ ब्रायनको अवस्था थप बिग्रियो र ज्यानुअरी १२ तारिखमा उनलाई भेन्टिलेटरमा राख्नको लागि आईसीयूमा लगियो।

“हामी सबै मिलेर उनीहरूको विवाह गरायौँ। उनीहरूले चाहे जस्तो विवाह यो नहुन सक्छ तर पक्कै पनि यो केही हदसम्म सकारात्मक, असाधारण अनि स्मरणीय हुन सक्छ,” क्याननले भनिन्।

परिवार सदस्य अनि साथीहरूका लागि उनले विवाह समारोहको भिडिओ कैद गरिन्। अस्पतालमा खानपानको प्रबन्ध गर्ने कर्मचारीहरूले केकको व्यवस्था गरे। विवाह सम्पन्न भएको केही समयपछि नै ओ ब्रायनलाई भेन्टिलेटरमा राखियो।

हाल उक्त दम्पती एउटै वार्डमा छ र विवाह भएपछि पहिलोपटक चुम्बन गर्न सफल भएको छ। करले विवाह हुनु आफूहरूका लागि “सम्पूर्ण कुरा” रहेको बताएकी छन्। “हामी एक अर्का सँगै नभएको भए र हामीलाई विवाह गर्ने मौका नदिइएको भए मलाई लाग्दैन कि हामी दुवै यहाँ सँगै हुने थियौँ,” उनले थपिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *