‘सञ्चारमाध्यमले योग र ध्यानका समाचारलाई प्राथमिकता दिनुपर्छ’
काठमाडौं । ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले सञ्चारमाध्यमले योग र ध्यानका समाचारलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । न्युज लाइन्स मिडियाको चौथो वार्षिकोत्सव एवम् सम्मान कार्यक्रममा उनले योग र ध्यान नेपाली संस्कृति भएकाले यसको संरक्षणमा सञ्चारमाध्यम लाग्नुपर्ने बताए ।
उनले भने, “योग र ध्यानको आकर्षण संसारमा बढेको छ, बुद्ध जन्मथलो नेपालमा योग र ध्यानको विशेष महत्व छ, बुद्धको जन्मथलो नेपाललाई ध्यानको राजधानी बनाउनुपर्छ ।” विश्वमा ३० करोड जनसङ्ख्या योग र ध्यानमा लागेको उनको भनाइ छ । कोरोनाले योग र ध्यानलाई अझै व्यापकता दिएको उनले बताए । विसं २०३६ देखि नेपालमा योग दिवस मनाउन प्रस्ताव गरे पनि २० वर्षपछि मात्र मनाउन थालिएको उनको भनाइ छ ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले अनलाइन पत्रकारिता चुनौतीपूर्णरुपमा अगाडि बढेको बताए । सरकारले अनलाइन मिडियालाई नियन्त्रण गर्न खोजेको उनको आरोप थियो । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले कोभिड–१९ ले थलिएको नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउनका लागि सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताए।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले नेपाली सञ्चार क्षेत्रले सकारात्मक सोचका साथ समाचार प्रसारण गर्नुपर्ने उल्लेख गरे । “नेपाली पत्रकारितामा सक्षम व्यक्ति आएका छन्, अनलाइन मिडिया नेपाली पत्रकारितामा सफल भएको छ”, उनले भने । नेपाली पत्रकारिता क्षेत्रमा भएको विकृति र विसङ्गतिलाई सुधार्दै लैजानुपर्ने उनको भनाइ थियो ।
सोही अवसरमा कृषि वैज्ञानिक डा हरिकुमार श्रेष्ठ, पर्यटन व्यवसायी जगतबहादुर गुरुङ, समाजसेवी भावना केसी, हरि कार्कीलगायत १४ जनालाई सम्मान गरिएको थियो । सम्मानीत व्यक्तिका तर्फबाट कृषि वैज्ञानिक डा श्रेष्ठले कृषि क्षेत्रलाई प्राथमिकतामा समाचार लेख्न आग्रह गरे। न्युज लाइन्स मिडियाका प्रबन्ध निर्देशक गीता ढकालले देशभित्रको विकृति–विसङ्गतिको अन्त्य गर्दै मुलुकको आर्थिक विकासका लागि आफ्नो अनलाइनले निरन्तर खबरदारी गर्दै आएको उल्लेख गरे । रासस







डिसी नेपाल








Facebook Comment