विदेश जाने श्रमिकको मेडिकल गर्ने १० स्वास्थ्य संस्था खारेजीको निर्णय उल्टिने आशंका

डिसी नेपाल
२० माघ २०७७ १७:१६

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको ‘वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने १० वटा स्वास्थ्य संस्थाहरु खारेजी’को सूचना हटाएको छ। मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ती संस्थाको सूचीकरण खारेज गरिएको सूचना आफ्नो वेबसाइटमा हालेको दुई दिनपछि हटाएको हो।

मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने अनुमति पाएका ती १० स्वास्थ्य संस्थाहरुलाई पौष मसान्तसम्म नवीकरण हुन कागजात पेश नगरेको र थप भएको १५ दिनको समयमा पनि चित्तबुझ्दो विवरण नदिएको भन्दै मन्त्रीस्तरीय निर्णयबाट ती संस्थाहरुको अनुमति खारेज गरेको सूचना आइतबार प्रकाशित गरेको थियो।

मन्त्रालयले खारेज गरेका स्वास्थ्य संस्थाहरुमा काठमाडौं महाराजगञ्जमा रहेको सुधा हेल्थ एण्ड मेडिकल सेन्टर, त्रिपुरेश्वरस्थित साउदी नेपाल मेडिकल सेन्टर प्रा.लि., पिंगलस्थानस्थित रिलायवल मेडिकल सेन्टर प्रा.लि., रानीबारीस्थित पर्फेक्ट डायग्नोष्टिक सेन्टर प्रा.लि., महराजगञ्जस्थित मेट्रो काठमाडौं अस्पताल प्रा.लि. रहेका थिए।

त्यस्तै, ललितपुर सातदोबाटोमा रहेको अल्का पोलिक्लिनिक प्रा.लि., जावलाखेलस्थित अल्का अस्पताल प्रा.लि., जनकपुरमा रहेको अनुरोध पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर, झापाको गोदावरी डायग्नोष्टिक सेन्टर प्रा.लि. र झापास्थित कन्काई डायग्नोष्टिक सेन्टर प्रा.लि रहेका थिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता भरतमणी पाण्डेले उक्त स्वास्थ्य संस्थाहरु खारेजीको सूचना वेबसाइटमा राखेको आफूलाई थाहा नभएको बताए । सो विषयलाई लिएर डीसी नेपालले सोधीखोजी गर्दा प्रवक्ता पाण्डेले यो विषयमा आफूलाई जानकारी नभएको भन्दै टारे।

प्रवक्ता पाण्डेले भने, ‘सूचना हाम्रो वेबसाइटमा राख्नु÷नराख्नु सरकारको विषय नै भएन नि। निर्णय गरेको कुराहरु चाहियो भने हामी तपाईंहरुलाई उपलब्ध गराउँछौं। वेबसाइटमा राखेको छ भनेर यहाँ मलाई कसैले सूचना दिएको छैन। अब तपाईंले कहाँबाट वेबसाइटमा पाउनु भयो?’

तपाईंहरुको निर्णय फेरिएको हो?, भनी सोध्दा उनले भने, ‘निर्णय यताउती केही नै हुँदैन। निर्णय भइसकेपछि सकियो। मेरो आधिकारीक भर्सन सुन्नुहुन्छ भने खारेजीको निर्णय भइसकेको छ, निर्णय भइसकेपछि त्यो निर्णय मन्त्रालयले परिवर्तन गर्दैन। र, यो सार्वजनिक सरोकारको विषय हो जस्तो पनि लाग्दैन मलाई।’

प्राविधिक समस्या भएर त्यस्तो भएको हो कि?, भनी पुनःसोध्दा उनले भने, ‘प्राविधिक समस्या भएर होइन। वेबसाइटमा राख पनि भनेका थिएनौं। कसले राख्यो? राखेको जस्तो मलाई लाग्दैन तर तपाईंले राखेको थियो भन्नु भएको छ। मैल यहाँ सम्बन्धित साथीलाई सोध्दा पनि राखेको छैन भन्नु भयो। त्यसकारण यो राख्न÷नराख्ने विषय भन्दा पनि निर्णय भएको छ। जुन निर्णय कार्यान्वयनमा गइसकेको छ।’

अब वैदेशिक रोजगार ऐनअनुसार नवीकरण नगरी खारेजीमा परेका संस्थाले वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्न पाउने छैनन्। तर, सरकारले १० स्वास्थ्य संस्था खारेज गरेको निर्णय सरकारी वेबसाइटमा राखेको दुई दिनपछि पुनःहटाएकोले आशंका बढेको छ । वेबसाइटबाट रहस्यमय तरिकाले सूचना हट्दा यहाँ केही चलखेल हुन सक्ने आशंका बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *