प्रेमकुमार राई प्रमुख आयुक्त बनेपछि अख्तियारका पदाधिकारीमा खैलाबैला
काठमाडौं। प्रेमकुमार राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खैलाबैला भएको छ । राई प्रमुख आयुक्त बन्ने र आज शपथ ग्रहण गर्ने निश्चित भएपछि हिजैदेखि अख्तियारका पदाधिकारीहरुमा हल्लाखल्ला सुरु भएको हो । स्रोतका अनुसार आयोगका कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशी र आयुक्त सावित्री थापा गुरुङले पदबाट राजिनामा दिने तयारी गरेका छन् ।
आफूहरू अख्तियारको आयुक्त हुँदा आफूहरुको मातहतमा अख्तियारको सचिवको हैसियतले काम गरेका व्यक्ति नै प्रमुख आयुक्तमा नियुक्त भएर आउने भएपछि उनीहरूले बुधबार राजीनामा दिने तयारी गरेका हुन् ।
अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई २०७१ साउन ९ देखि फागुन २७ गतेसम्म अख्तियारका सचिव थिए । त्यति बेला जोशी र गुरुङ दुवै जना अख्तियारमा आयुक्त थिए ।
अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार बुधबार जोशी र गुरुङ दुवै कार्यालय आएका छैनन् । संविधानमा संवैधानिक निकायका पदाधिकारीले राजीनामा बुझाउनासाथ त्यो स्वीकृत हुने र पद रिक्त हुने व्यवस्था छ ।
उनीहरुले आजै राजीनामा दिएमा उनीहरु दुवैको पद रिक्त हुनेछ र संवैधानिक परिषदले संवैधानिक निकायलाई पूर्णता दिएकै दिन थप दुई पद खाली हुनेछन् । यसपछि संवैधानिक परिषदले उनीहरुको ठाउँमा अरु कसैलाई नियुक्त गर्न सक्छ ।







डिसी नेपाल








Facebook Comment