जहाज ठीक पारियो, आफन्त विमानास्थल पुगे तर, श्यामाको शव नेपाल पुगेन, इराकमा अन्त्येष्टि

डिसी नेपाल
२८ माघ २०७७ १६:३४

कुर्दिस्तान। मृत्यु भएको अढाइ महिना (दुई महिना सत्र दिन) पछि इराकको कुर्दिस्तानमा एक नेपाली महिनाको बल्ल दाहसंस्कार भएको छ। नेपाल नै ल्याएर आफ्नै परम्पराअनुसार, दाहसंस्कार गर्न गरिएको अनेकौं प्रयास सफल नभएपछि रुकुमकी ४० वर्षीया श्यामा शाहको फेब्रुअरी ९ तारिकमा कुर्दिस्तानमै अन्त्येष्टि गर्नु परेको हो।

उनको शवलाई नेपाल सरकारले नेपाल ओराल्ने अनुमति दिएन। मृत शरीरको कोरोना परीक्षण गरी कोरोना नभएको रिपोर्ट प्राप्त भएपछि पनि नेपाल सरकारले शव नेपाल पुर्याउने अनुमति नदिएपछि उनको शव लामो समयसम्म कुर्दिस्तानमै अलपत्र परेको थियो।

रोजगारीको लागि इराकको कुर्दिस्तान पुगेकी दाङ जिल्लामा जन्मेकी र घर रुकुम भएकी शाह घरेलु कामदारकारुपमा कार्यरत थिइन्। उनको मृत्यु २२ नोभेम्बर आइतबारका दिन भएको हो। विहान १० बजेको समयमा एक्कासी पेट र छाती दुखेपछि अस्पताल लगिएकी उनी अस्पतालमै मृत घोषित भएकी थिइन्।

उनको मृत्युपछि उनी डेरा बस्ने घरपेटी, स्थानीय समाजसेवी एफडब्ल्युसीडीओका संस्थापक हामा महम्मद हाजार र डिसी नेपालका प्रतिनिधिले उनको मृत्यु भएको अवस्थाबारे अस्पतालमै पुगी थप जानकारी लिई उनको शवलाई नेपाल पठाउने प्रक्रिया शुरु गरेका थिए। तर, चिठी पत्र र लेखापढी गर्दा गर्दै महिनौं बिते।

इराक हेर्ने तोकिएको कुबेतस्थित नेपाली दूतावास र कुर्दिस्तानका बीच आपसी पत्राचारपछि उनको शवलाई जनवरी २० मा नेपाल पुर्याउने तयारी पूरा गरिएको थियो। तर, शवको पहिलो कोरोना परीक्षणमा पोजिटिभ देखियो। यो रिपोर्टपछि नेपाल सरकारले शव नेपाल लैजान नमिल्ने भन्दै रोक लगायो। केही दिनअघि फेरि उनको शवको कोरोना परीक्षण गरियो र रिपोर्ट पनि नेगेटिभ आयो।

कुर्दिस्तान सरकारले शव लैजान मिल्ने भनेर लिखित अनुमति पनि दियो। यही अनुमतिका आधारमा फेब्रअरी ४ तारिकका दिन उनको शवलाई नेपाल पुर्याउने प्रबन्ध मिलाइयो। जहाजमार्फत पठाउने गरी सबै प्रबन्ध मिलाइसकेको अवस्थामा फेरि नेपाल सरकारले अनुमति दिन नसकिने भन्दै रोक लगायो। मृतक श्यामा शाहका आफन्तहरु उनको मृत शरीर लिन र अन्तिम पटक भए पनि मुख हेर्न काठमाडौं आइसकेका थिए।

तर नेपाल सरकारले रोक लगाएपछि बाध्य भएर उनको अन्त्येष्टि इराकको कुर्दिस्तानमै गर्नु परेको हो। उनको अन्त्येष्टि क्रिश्चियन परम्पराअनुसार स्थानीय एक चर्चमा श्रद्धान्जलि सभाको आयोजना गरी सम्पन्न गरिएको थियो। कार्यक्रममा कुर्दिस्तानमा बस्ने नेपालीहरु तथा स्थानीयहरुको उपस्थिति थियो। सो कार्यक्रमको स्थानीय संचारमाध्यमहरुले प्रत्यक्ष प्रसारण समेत गरेका थिए।

(हेर्नुहोस् भिडियो पनि)

अचानक मृत्यु भएकी श्यामाको शवलाई नेपाल पुर्याउनका लागि इराकको कुर्दिस्तानमा भएका नेपाली समुदायले आर्थिक संकलनसमेत गरेका थिए। विदेशमा मृत्युवरण गर्नु परे पनि आफ्नै देशको माटोमा बिलिन हुन पाउने अधिकारबाट श्यामा शाह बन्चित भएकी छिन्।

यो घटनाले विभिन्न व्यबसाय र रोजगारीका लागि इराकको कुर्दिस्तानमा बसोबास गरिरहेका अधिकांश नेपालीहरु नेपाल सरकारप्रति दुखी भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *