भागरथी हत्या प्रकरणः अनुसन्धान तिब्र बनाउन काँग्रेसको माग

डिसी नेपाल
३० माघ २०७७ १८:४२
72
Shares

काठमाडौं। बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा हालसम्म अपराधी पत्ता नलागेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले असन्तुष्टि व्यक्त गरेको छ। कााग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सो प्रकरणको अनुसन्धान तिब्र बनाउन आग्रहसमेत गरेका छन्।

शर्माले भनेका छन्, ‘बैतडी जिल्लाको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुःखद र गम्भीर रूपमा लिएको छ। अतः अनुसन्धान तिब्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासंगै देशभरका सबै यस्ता घटना विरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन नेपाली कांग्रेस प्रधानमन्त्री समक्ष माग गर्दछ।’

शान्ति स्थापना र संविधान निर्माण पश्चात देशमा अमन चयन स्थापना हुनेछ र नागरिकको जीवन सुरक्षीत बन्नेछ भन्ने विश्वास वितेका बर्षहरुमा कारुणिक ढंगले खण्डित हुँदै आएको काँग्रेसको आरोप छ। विज्ञप्तिमा भनिएको छ, ‘अनेक प्रकृतिको हिंसासंगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही बर्ष यता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको बिषय बनेको छ।’ काँग्रेसले गृहमन्त्री रामबहादुर थापा बादलले यसअघि निर्मला पन्त प्रकरणमा दिएको अभिव्यक्ति स्मरण गर्दै सरकार उदासिन रहेको आरोप लगाएको छ।

काँग्रेसले भनेको छ, ‘ ‘विकसित मुलुकमा पनि यस्तै हुन्छ’ भन्ने जिम्मेवार तहको गैह्र जिम्मेवार जवाफले वर्तमान सरकारको उदासिनता प्रकट गरेको छ भने अपराधको मानसिकता निरुत्साहित गर्न कानूनी चेतावनीको भाषालाई कमजोर समेत बनाएको छ। निर्मला पन्त प्रकरणका दोषी अझै कहिँ खुला घुमिरहेका छन् भने भागरथी र अरु धेरै छोरीको अपराधमा संलग्नहरु कानूनको कठघराभन्दा बाहिरै छन्।’

महिला उपर हिंसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढेर जांदा राज्यले बिशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन सरकार समक्ष माग गर्दै  यस्ता घटना विरुद्ध सिंगो समाजको सजगताका लागि काँग्रेसले अपील गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.