बाबुरामसँग मोर्चा बनाउने प्रचण्डको चाहाना

डिसी नेपाल
१ फागुन २०७७ २३:४८
152
Shares

काठमाडौं। नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको वर्तमान अवस्थाले परिवर्तनकारी शक्तिबीच गम्भीर आत्मसमीक्षा र शष्लेषण गरी एकपटक फेरि मोर्चा कसेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताएका छन्।

जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको ‘गुमनाम आमाहरूको कथा’ कृति शनिबारयहाँ लोकार्पण गर्दै उनले मुलुुक र जनताका लागि गम्भीरतापूर्वक आफ्नो दायित्व पूरा गर्न मोर्चा बनाउन आवश्यक रहेको जिकिर गरे।

अध्यक्ष दाहालले भने, “संविधानले समावेशी लोकतन्त्रिक, सङ्घीय गणतन्त्र, समानुपातिक प्रतिनिधित्व र मौलिक हकसम्बन्धी विषयमा जग बसालेको थियो, सङ्घीयता र परिवर्तनको उपलब्धि एवं संविधानको मूल मर्ममाथि अहिले हमला भएको छ, पछिल्लो परिस्थितिले विचार र भावनाको नयाँ आधार सिर्जना भएको छ, यसबाट आउने परिणाम सकारात्मक हुनेछ ।”

राष्ट्रिय आत्मविश्वासको सङ्कट : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको पछिल्लो परिस्थितिले अगाडि बढ्ने मार्ग अझै स्पष्ट नभएका कारण मुलुकमा राष्ट्रिय आत्मविश्वासको सङ्कट देखापरेको बताए। उनले भने, “संविधानसभामा कुन शासन प्रणाली र व्यवस्थामा किन जाने भनी लामो छलफल र सम्झौताबाट जारी भएको संविधानले दिँदै नदिएको अधिकार प्रयोग गर्न खोज्दा जनताको मतमा विश्वासमा घात भएको छ, यसले राजनीतिप्रति जनतामा वितृष्णा पैदा भयो ।”

‘जनयुद्ध’बारे साझा बुझाइको माग

लेखक एवं पूर्वप्रधानमन्त्री डा भट्टराईले मुलुकको राजनीतिक परिवर्तनको मूल कडीका रुपमा रहेको ‘जनयुद्ध’बारे राजनीतिक दलसहित समाजका सबै तह र तप्काबीच समान बुझाइ हुन जरुरी रहेको बताए। उनले भने, “जनयुद्धको इतिहास लेख्न जरुरी छ, द्वन्द्वका समयमा कतिपय बेला आन्दोलन सञ्चालनमा ढङ्ग नपुगेको तथा पार्टीका निर्देशन पालना नहुँदा केही कमजोरी भए होलान, तर अहिले परिवर्तनको मूल जग जनयुद्ध अलपत्र परेको छ, इतिहासलाई नकार्ने र रक्षा गर्न नसक्ने हो भने इतिहास बिर्सनेले वर्तमान र भविष्यमा बनाउन सक्दैन ।”

पत्रकार राजु क्षेत्री र विश्वदीप पाण्डेको सम्पादनमा प्रकाशित उक्त पुस्तक डा भट्टराईका अनुभूति असम्पादित गैर आख्यानकारूपमा छ । जनता समाजवादी पार्टीका नेता अशोककुमार राईले शासन व्यवस्था परिवर्तनका लागि भएको माओवादी जनयुद्धलाई वन र बन्दुक मात्र होइन, वैचारिक, सिद्धान्त, दर्शन र घोषणाका दृष्टिले विशिष्ट रहेकाले सोही ढङ्गबाट बुझ्न र हेर्न आवश्यक रहेको तर्क गरे।

अधिकारकर्मी डा मीना पौडेलले जटिल सामाजिक संरचना र सांस्कृतिक मूल्यमान्यताका नाममा लादिएका गलत सोचलाई छर्लङ्ग उजागर गर्न डा भट्टराई सफल हुनुभएको धारणा राखिन्। पुस्तकका समीक्षक तुलनारायण साहले चार खण्डमा विभाजित गुमनाम आमाहरूको कथा शोषणयुक्त गोर्खाको एउटा गाउँमा जन्मिएको युवकले विदेशमा परिचय बदल्ने दृढता र राजनीतिभित्रको विकृतिलाई शुन्य सहनशीलताका आधारमा विषयवस्तु समानपूर्वक प्रस्तुत गरेको बताए।

राजनीतिज्ञ दीपक वाग्लेले दशवर्षे द्वन्द्वमा मात्र होइन, राजनीतिक परिवर्तनका लागि भएको अघिल्ला आन्दोलन, आन्दोलन र बलिदान किन भए, त्यसबाट के स्थापित भयो भन्नेबारे पुस्तकमा विस्तृतरूपमा समेटिएको बताए। फरक राजनीति, बौद्धिक र सिद्धान्तका साथ अघि बढिरहेका डा भट्टराईको उक्त कृतिको प्रकाशन फाइन प्रिन्ट प्रालीले गरेको हो । पुस्तकमा भूमिगत जीवनका केही अनुभूतिदेखि गणेशमानजीको लोटा र घडा, नागरिक आन्दोलनकारी मित्रलाई पत्र, जनयुद्धका ज्यूँदा शहीदको अमरकथा, अमेरिकाः पाताल न स्वर्गलगायत शीर्षकमा विषयवस्तु समेटिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.