प्रतिनिधिसभा विघटनविरुद्ध आज कांग्रेसले देशव्यापी प्रदर्शन गर्दै

डिसी नेपाल
३ फागुन २०७७ १०:५९
60
Shares

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार देशव्यापी प्रदर्शन गर्दैछ। जिल्ला कार्यसमितिहरूको आयोजनामा ७७ वटै जिल्लामा कांग्रेसले विरोध प्रदर्शन गर्ने भएको हाे।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद् विघटनका लागि प्रस्ताव गरेपछि पुस १३ गतेबाट आन्दोलित बनेको कांग्रेसले विभिन्न चरणमा संसद् विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै आएको छ संसद् विघटन असंवैधानिक कदम भएको भन्दै विभिन्न चरणमा आन्दोलन गरिरहेको कांग्रेसभित्र संसद् विघटनलाई निर्वाचनमा जानुपर्ने अवसरका रूपमा हेर्नुपर्ने तर्क पनि उठिरहेको छ।

संस्थापन पक्ष संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै अदालतको निर्णय नआउँदासम्म केही बोल्न नहुने पक्षम छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्ने अडानमा देखिएको छ। यद्यपि, सोमबारको देशव्यापी प्रदर्शनका लागि सभापति शेरबहादुर देउवाले सबै नेता कार्यकर्ताहरूलाई प्रदर्शनमा सहभागी हुन सर्कुलर गरेका छन्।

यसैबीच प्रधानन्त्री ओलीले चालेको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा हुने विरोध प्रदर्शनमा सहभागी हुन सभापति देउवाले सबैलाई अपिल गरेका छन्। संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले चरणबद्ध आन्दोलन गरिरहेको उल्लेख गर्दै उनले विज्ञप्तिमार्फत भनेका छन्,‘संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेस र भ्रातृसंस्थाले पुस १३, पुस २५, माघ ३ माघ ८ माघ १९ र माघ २४ गते गरेको विरोध प्रदर्शनमा व्यापक सहभागिताका साथ सम्पन्न भएका छन् । सोमबारको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन म सबैमा हार्दिक अपिल गर्दछु ।’

को नेता कहाँ जाँदैछन् ?

तेस्रो चरणको आन्दोलनमा रहेको कांग्रेसका शीर्ष नेताहरूले विभिन्न जिल्लामा गएर सम्बोधन गर्ने भएका छन् । पार्टी सभापति देउवा बुटवलमा हुने कार्यक्रमलाई सम्बोधन गर्न जाने भएका छन् । यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल धादिङ सदरमुकाम धादिङवेसी, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री डा. शशांक कोइरालाले दाङको विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

नेता कृष्णप्रसाद सिटौलाले झापामा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् । यसैगरी, प्रकाशमान सिंह पोखरा, डा. शेखर कोइराला धरान, अर्जुननरसिंह केसी काठमाडौं, डा.मीनेन्द्र रिजालले प्युठान, डा. रामशरण महतले काभ्रे, प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुर, गगन थापाले चितवन, प्रदीप पौडेलले दैलेख, अर्जुन जोशीले भक्तपुर, गुरुराज घिमिरेले दोलखाको विरोधसभालाई सम्बोधन कार्यक्रम तय भएको छ

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.