संसद् विघटन मुद्दाः रिट निवेदकको जवाफी बहस सकियो
काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको सुनुवाइका क्रममा सोमबार रिट निवेदकका तर्फबाट जवाफी बहस सकिएको छ। आइतबार नौजना रिट निवेदक तथा कानुन व्यवसायीले जवाफी बहस गरेका थिए। सोमबार मेघराज पोखरेल, रमन श्रेष्ठ, मुक्ति प्रधान, शम्भु थापा, गोविन्द बन्दी, टिकाराम भट्टराई, कृष्णप्रसाद भण्डारी, सन्तोष भण्डारी, सरोजकृष्ण घिमिरे, कृतिनाथ शर्मा, सुरेन्द्र विक्रम केसी लगायतले जवाफी बहस गरेका छन्।
रिटको पक्ष र विपक्षका वकिलहरूले बहस सकेपछि आइतबारदेखि रिट निवेदकका तर्फबाट जवाफी बहस शुरू भएको थियो।
मंगलबारदेखि एमिकस क्यूरीले सुझाव दिनेछ। ५ सदस्यीय एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक छन्। एमिकस क्यूरीको सुझावपछि फैसलाको प्रक्रिया शुरू हुनेछ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। गत माघ ४ गतेदेखि संवैधानिक इजलासमा विषय केन्द्रित बहस शुरु भएको थियो।
गत पुस ११ गतेदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो । रिट निवेदक १३ मध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएकाले क्षेत्राधिकारका विषयमा लामै बहस र छलफल भयो।







डिसी नेपाल







Facebook Comment