पशुपतिक्षेत्रको ट्राफिक व्यवस्था चुस्त छ : महानगरीय ट्राफिक प्रहरी प्रमुख भट्टराई

डिसी नेपाल
२७ फागुन २०७७ ७:४४
68
Shares

काठमाडौं । शिवरात्रिका दिन पशुपति क्षेत्रमा ट्राफिक व्यवस्था चुस्त पारिएको छ। महानगरीय ट्राफिक प्रहरी प्रमुख जनकराज भट्टराईले नियमित भन्दा बढी संख्यामा ट्राफिक खटाएर व्यवस्था चुस्त पारिएको जानकारी दिए।

डिसीनेपालसँग कुरा गर्दै प्रहरी प्रमुख भट्टराईले भने, ‘साविकको भन्दा बढीसंख्यामा ट्राफिक प्रहरी खटाइएको छ। अहिलेसम्म दर्शनार्थीको भिड बढेको देखिदैनन्। त्यसैले ट्राफिक ड्राईभरसन गर्नु परेको छैन।’

सिनामंगल, गौशालादेखि चावहिलसम्मको ट्राफिकमा आज विशेष ध्यान दिने जानकारी दिए। उनले भने, ‘उपत्यकाका अन्य भागहरुमा सधैँ झै हुन्छ। कुनै प्रभाव पर्दैन। पशुपतिक्षेत्रमा पर्ने सिनामंगलदेखि गौशाला हुँदै चावहिलसम्मको भागमा अलि बढी ध्यान दिनु पर्छ। त्यो क्षेत्रमा मात्र आज ६ सय ५० जना ट्राफिक प्रहरीहरु खटाइएको छ।’

दर्शनार्थीको चापका कारण यातायात सञ्चालन गर्न नसक्ने अवस्था आएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने उनले जानकारी दिए।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा तीन दिनअघिदेखि करीब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। विगत वर्षमा जस्तै यसपटक पनि दर्शनका लागि विशेष पासको व्यवस्था गरिएको छैन। दर्शन गर्न चाहनेले लाममै बसेर मन्दिर प्रवेश गनुृपर्नेछ । वृद्धवृद्धाका लागि भने स्वयंसेवकबाट छिटो दर्शन गराउने व्यवस्था मिलाइनेछ ।

पशुपतिनाथ मूल मन्दिरका चारै ढोका महाशिवरात्रिका दिन बिहान चार बजेदेखि नै खोलिएका छन् । बिहान चार बजेदेखि राति दर्शनार्थी नसकिएसम्म पशुपतिनाथका चारै ढोका खुला गरिने कोषले जनाएको छ।

कोरोना महामारी कायमै रहेकाले मास्क नलगाउन भक्तजनलाई मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको छ। मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न चाहने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्ने पशुपतिक्षेत्र विकास कोषले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.