वीर गणेशमान रोड रेसको उपाधि गोपीचन्द्र र सन्तोषीलाई

डिसी नेपाल
७ चैत २०७७ २२:३६
20
Shares

काठमाडौं । दोस्रो संस्करणको वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की तथा महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठले जितेका छन् ।

पार्की र श्रेष्ठले आज राजधानीमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि लगातार दोस्रो पटक जितेका हुन् । पहिलो संस्करणको उपाधि पनि दुवै खेलाडीले जितेका थिए । गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पार्कीले निर्धारित दूरी ३१ मिनेट ४४ दशमलव ४९ सेकेन्डमा पूरा गरे । उनले गत सोही दौड ३२ मिनेट ०१ दशमलव २ सेकेन्डमा पूरा गरेका थिए । उपाधिसँगै पार्कीले रु ६० हजार पुरस्कार प्राप्त गरे । यस्तै अनिष थापामगर ३१ मिनेट ५० दशमलव ४९ सेकेन्डकाका दोस्रो तथा तीर्थ पुन ३१ मिनेट ५६ दशमलव ३८ सेकेन्डका साथ तेस्रो भए । सोही स्पर्धामा गजेन्द्र थापा चौंथो तथा नरेन्द्र रावत पाँचौं भए । उनिहरूले क्रमशः रु ३० हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

यसैगरी महिलातर्फ १३औँ सागकी स्वर्णधारी श्रेष्ठले निर्धारित दूरी ३७ मिनेट ५३ दशमलव ४४ सेकेन्डमा पूरा गरिन् । उपाधिसँगै उनले रु ६० हजार प्राप्त गरिन्। उनले अघिल्लो संस्करणमा सो दूरी ३९ मिनेट १० दशमलव ९८ सेकेन्डमा पूरा गरेकी थिइन्। महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पर्छाई ३९ मिनेट ३० सेकेन्डका साथ दोस्रो, एपीएफकी फुलमती राना ४० मिनेट ५६ सेकेन्डका साथ तेस्रो, पूर्णलक्ष्मी न्यौपाने चौंथो र विर्सना कुमाल पाँचौं भए । उनिहरुले क्रमशः रु ३० हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना र रुट्स फेसनको मुख्य प्रायोजनमा भएको उक्त स्पर्धा दरबारमार्गबाट सुरु भइ महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, राजदरबार संग्रहालय दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बालमन्दिर, प्रहरी प्रधान कार्यालय, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुनः दरबारमार्गमा पुगेर समापन भएको थियो ।

विजेता खेलाडीलाई पूर्वउपप्रधानमन्त्री एवम नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेपाली कांग्रेसका काठमाडौं जिल्ला सभापति सबुज बानियाँ, गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सञ्जीव तुलाधर, उपसंयोजक सुनील श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य सुवास श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे।

अन्तरवडा टेबल टेनिसको स्वर्ण अमरलाल र इभानालाई

काठमाडौँ महानगरपालिका २५ का अमरलाल मल्ल र ललितपुर महानगरपालिका–१२ की इभाना थापाले देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

राजधानीको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आज भएको पुरुष फाइनलमा मल्लले विराटनगर महानगरपालिका–३ का वोधित डिसीलाई पराजित गरे । सो स्पर्धामा धरान २ का महावीर जैशवाल तेस्रो भए । महिलातर्फ थापाले सिलिचोङ गाउँपालिका–४ की वियन्का राईलाई पराजित गर्दै स्वर्ण जितिन् । सो स्पर्धामा काठमाडौँ महानगरपालिका–२ की सुभश्री श्रेष्ठ र भक्तपुर ५ की दिया देउला तेस्रो भए । पुरुष र महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ः रु ३० हजार, रु १५ हजार र रु सात हजार ५०० पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा विराटनगर महानगरपालिका–३ दुई स्वर्ण र दुई रजतका साथ टोली च्याम्पियन बन्दै रु ५० हजार पुरस्कार प्राप्त ग¥यो । पुरुष ४० वर्षमाथिको एकल स्पर्धामा विराटनगर ३ का राजेश भट्टराई पहिलो, विराटनगर ३ कै विकेन थापा दोस्रो तथा काठमाडौँ ३२ का नरेश रावल र बूढानीलकण्ठ १२ का कपुर शर्मा पौडेल तेस्रो भए । यस्तै ५५ वर्षमाथिको सप्र्धामा धरान १२ का राजन सुब्बाले स्वर्ण, ललितपुर १६ का प्रकाश धाक्वाले रजत तथा काठमाडौँ ३१ का विनयकुमार सिंह र ललितपुर ११ का सरदमान श्रेष्ठले कास्य पदक प्राप्त गरे । उनिहरूले क्रमशः रु १० हजार, रु पाँच हजार र रु दुई हजार ५०० पुरस्कार प्राप्त गरे ।

पुरुष टिम स्पर्धामा विराटनगर ३ पहिलो, धरान ९ दोस्रो तथा ललितपुर १९ र धरान १२ तेस्रो भए । महिला टिम स्पर्धामा भक्तपुर ५ पहिलो, भक्तपुर २ दोस्रो तथा काठमाडौँ २ र ललितपुर १२ तेस्रो भए । विजेता खेलाडीलाई अखिल नेपाल टेबल टेनिस सङ्घका अध्यक्ष चतुरानन्दराज वैद्यलगायतले पुरस्कार प्रदान गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.