सप्तरी प्रिमियर लिग : उद्घाटन खेलमा रुपनी राईडर्स विजयी
राजबिराज । तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा सुरु भएको छ । लिग अन्तर्गत आईतवार भएको उद्घाटन खेलमा रुपनी राईडर्सले बोदे बर्साईन थन्डर्सलाई १३ रनले पराजित गरेको छ । राज रंगशालामामा सम्पन्न खेलमा रुपनीले दिएको १४८ रनको लक्ष्य पछ्याएको बोदे बर्साईनले पुरै २० ओभर ब्याटिङ गर्दै सम्पूर्ण विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । बोदे बर्साईनको लागि नारायण जोशीले सर्वाधिक ३३ रन, कप्तान सिद्धान्त लोहनीले २४ रन , योगेन्द्र सिंह कार्की र बिकाश दासले समान १७–१६ रन बनाए । रुपनी राईडर्सका लागि बलिङमा सुमित झाले ४ ओभर बलिङ गर्दै २५ रन दिएर सर्वाधिक ४ विकेट लिए । अनिल यादवले २ विकेट तथा फिर्दोश अन्सारी, सुनिल धमला, कुशल भुर्तेल र अनुज कुमार यादवले समान १–१ विकेट लिए ।
यस अघि टस हारेर ब्याटिङ गरेको रुपनी राईडर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो । रुपनीको लागि ओपनर सुनिल धमलाले ३७ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ५४ रन बनाए । निरज मुखियाले १९ रन, अनिल यादवले अविजित १७ रन, अनुज यादवले अविजित १५ रन तथा कुशल भुर्तेलले १२ रन बनाए । बोदे बर्साईनका बलिङमा अफस्पिनर बिशाल सुश्लिङले ४ ओभर बलिङ गर्दै २६ रन सर्वाधिक ३ विकेट लिए । नारायण जोशी, पप्पु यादव र बसन्त रेग्मीले समान १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सुनिल धमला चुनिए ।
लिगअन्तर्गत सोमबार दुई खेलहरु हुनेछन । बिहान ९ बजे सुरु हुने पहिलो खेलमा दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोइलाडी जायन्टस र पवन सर्राफ कप्तानीको बजाज खडक वारियर्स तथा दिउसो १ बजे हुने खेलमा मेहबुब आलम कप्तानी टिभीएस किङस राजविराज र सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साईन थन्डर्सले प्रतिस्पर्धा गर्नेछ ।







डिसी नेपाल








Facebook Comment