चुम उपत्यकालाई अहिंसा क्षेत्र कायम राख्न माग

डिसी नेपाल
१२ चैत २०७७ १८:१०
40
Shares

उत्तरी गोरखाको चुम उपत्यकाका स्थानीयवासीले छेकम्पार र सामागाउँमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गर्दा अहिंसा क्षेत्र कायम राख्ने प्रतिबद्धता गर्न माग गरेका छन् ।

चुम श्याग्गा संरक्षण समिति छेकम्पारले जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाउँदै त्यहाँका बासिन्दाले बिओपी स्थापना गर्दा चुम उपत्यकाको अहिंसा क्षेत्रलाई चिरकाल कायम राख्न माग गरेका छन् । ज्ञापन पत्र बुझाउदै समितिका संरक्षक निमा लामाले चुम उपत्यकाको संस्कृति परम्पराअनुसार त्यहाँ जीवजन्तुको हिसां गर्न नपाइने भएकाले सशस्त्र प्रहरी बलको बिओपी स्थापना गर्दा कुनै पनि खालको हिंसा गर्न नपाइने प्रतिबद्धता गर्नुपर्ने बताए ।

उनले भने, “सुरक्षाको प्रबन्ध गर्ने कुरा सकारात्मक कुरा हो, आवश्यक पनि छ तर त्यस क्षेत्रको परम्परा संस्कृतिमा खलल पुग्न दिनुहँुदैन ।” ज्ञापनपत्रमा स्थानीयवासीले चुम उपत्यका क्षेत्र जैविक विविधता खुला सङ्ग्राहालय राष्ट्रको गहना भएकाले अहिंसा संस्कृति एवं संस्कारको दिगो संरक्षण तथा संवद्र्धनका लागि सुरक्षा क्याम्पमा कार्यरत सुरक्षाकर्मीलाई चुम उपत्यकाको अहिंसासम्बन्धी छ बुँदे प्रतिबद्धता पालना गराउने व्यवस्था गर्न माग गरेका छन् ।

सो प्रतिबद्धतामा चुम उपत्यकामा कुनै पनि जीव जनावर काटमार गर्न नपाइने, शिकार नखेल्ने, मह नकाड्ने, डढेलो नलगाउने, मासु प्रयोजनका लागि अहिंसा क्षेत्रमा जीवजन्तु प्रवेश नगराउने, पशुबध पूर्ण रुपमा निषेध गर्नेलगायत रहेका छन् । त्यस्तै चुम उपत्यकाबाट मासु प्रयोजनका लागि पशुपक्षी निर्यात गर्न नपाइने त्यहाँको प्रचलन रहेको संरक्षक लामाले जानकारी दिए ।

चुम क्षेत्रमा रहेका स्थानीय प्रमुख लामा तथा तत्कालीन तालुकदार एवं स्थानीयवासीले चुम उपत्यकालाई विसं १९७७ मा महागुरु करुणा अबतारी पुज्य लामा सेराप दोर्जेको रहोबरमा अहिंसा क्षेत्र घोषणा गरिएको थियो । विसं २०२७ मा सम्भोटा लिपीमा लेखिएको अहिंसासम्बन्धी प्रतिबद्धता दस्तावेजलाई विसं २०२९ मा देवनागरी लिपीमा लेखेर त्यस क्षेत्रमा रहेका सबै चुमबासीले पुज्इ अवतारी गुरु ङावाङ् खेन्राप समक्ष पुनः सपथ गरी अहिंसा क्षेत्रलाई कायम राख्ने प्रतिबद्धता गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.