सुकीको स्वास्थ्य अवस्था राम्रो रहेको दाबी

डिसी नेपाल
१८ चैत २०७७ २१:०१
20
Shares

याङ्गुन । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीको स्वास्थ्य अवस्था राम्रो नै रहेको पाइएको छ । झण्डै दुई महिनादेखि थुनामा रहेकी ७५ वर्षीय सुकीको स्वास्थ्यमा कुनै समस्या नरहेको विवरण बुधबार सार्वजनिक गरिएको हो ।

कूटनीतिक दबाब अत्यन्त धेरै परेपछि सुकीका वकिलहरुलाई भेट्न दिइएको थियो । उनीहरुले नै उनको अवस्था सामान्य नै रहेको जानकारी दिएका हुन् ।

म्यानमारका सेनाले शासन हातमा लिएर सुकीलगायतका नेताहरुलाई थुनामा राखेको छ । उनीहरुको अवस्थाका बारेमा अहिलेसम्म कुनै जानकारी गराइएको थिएन ।

सेनाले सत्ता हातमा लिएदेखि म्यानमारमा अहिलेसम्म पनि जनआन्दोलन चलिरहेको छ । आन्दोलनका क्रममा अहिलेसम्म ५२० भन्दा बढीको मृत्यु भइसकेको छ ।

निर्वाचित सरकार र संसद्लाई भङ्ग गरी निष्पक्ष तरिकाले नयाँ निर्वाचन गराउन भन्दै सत्ता हातमा लिनु परेको सेनाको भनाइ छ । यसअघि भएको निर्वाचन निष्पक्ष हुन नसकेको भन्दै निर्वाचनको नतिजाप्रति सेनाले असन्तुष्टि र अविश्वास प्रकट गर्दै आएको थियो ।

नवगठित संसद्को पहिलो बैठक बस्नै लागेको दिन गत फेब्रुअरी १ का दिन सेनाले सत्ता हातमा लिएको घोषणा गर्दै शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएको हो ।

सेनाको कदमको विरोध गर्दै अहिले म्यानमारका दैनिक हजारौँ आन्दोलनकारीले प्रदर्शन गर्ने गरेका छन् भने अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत सेनाको कदमको विरोध भइरहेको छ ।

केहीदिन अगाडि आन्दोलनका क्रममा एकैदिन झण्डै १०० जनाको मृत्यु भएपछि सैन्य सरकारको दमनको विश्वभरीबाट थप विरोध भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.