आइपिएलः सबैभन्दा धेरै पटक शुन्यमा आउट हुने १३ खेलाडीमध्ये १२ भारतीय

डिसी नेपाल
२३ चैत २०७७ १०:४६
740
Shares

काठमाडौं। इण्डियन प्रिमियर लिग ४ दिनपछि अप्रिल ९ देखि सुरु हुँदैछ । विश्वकै सबैभन्दा महंगो क्रिकेट लिग मानिने यो लिगमा ब्याट्सम्यानहरुले निकै लज्जास्पद रेकर्ड पनि बनाउँदै गर्एका छन् । लज्जास्पद रेकर्डमध्येको एउटा रेकर्डमा भने भारतीय खेलाडीको कब्जा छ । त्यो रेकर्ड हो सबैभन्दा धेरै पटक शुन्यमा आउट हुने रेकर्ड । आइपिएलमा अहिलेसम्म १३ खेलाडी १० वा सोभन्दा धेरै पटक शुन्यमा आउट भएका छन् । यीमध्ये १२ खेलाडी भारतीय हुन् ।

एकमात्र विदेशी खेलाडी अस्ट्रेलियाका ग्लेन म्याक्सवेल हुन् । म्याक्सवेलले अहिलेसम्म आइपिएलमा ८२ खेल खेलेका छन् । यीमध्ये १० खेलमा उनी खाता नखोली शुन्यमा आउट भएका छन् । म्याक्सवेलले आइपिएलमा अहिलेसम्म दिल्ली डेयरडेभिल्स, किंग्स ११ पंजाब र मुम्बइ इण्डियन्सका लागि खेलिसकेका छन् । आगामी सिजन उनी विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंगलोरका लागि खेल्नेछन् । बैंगलोरले उनलाई १४.२५ करोडमा किनेको छ ।

आइपिएलमा ४ खेलाडी सबैभन्दा धेरै १३ पटक शुन्यमा आउट भएका छन् । १३ पटक शुन्यमा आउट हुने खेलाडीहरु रोहित शर्मा, हरभजन सिंह, पार्थिव पटेल र अजिंक्या राहाणे हुन् । रोहितले आफ्नो कप्तानीमा मुम्बइलाई सबैभन्दा धेरै ५ पटक आइपिएलको उपाधि जिताएका छन् । रोहित आइपिएलमा २ सय खेल खेल्ने दोस्रो खेलाडी हुन् । रोहितबाहेक महेन्द्र सिंह धोनीले मात्र २ सय खेल खेलेका छन् । धोनीले अहिलेसम्म आइपिएलमा २०४ खेल खेलेका छन् ।

१० भन्दा धेरै पटक शुन्यमा आउट हुने खेलाडीमध्ये ग्लेन म्याक्वेल मात्रै यस्ता खेलाडी हुन् जसले १०० भन्दा कम खेल खेलेका छन् । म्याक्सवेलले अहिलेसम्म ८२ खेल मात्र खेलेका छन् । १० भन्दा धेरै पटक शुन्यमा आउट हुने खेलाडीमध्ये अर्का मनदीप सिंहले १०४ खेल खेलेका छन् । यी दुईबाहेक अन्य सबैले १३० भन्दा धेरै खेल खेलेका छन् ।

१० भन्दा धेरै पटक शुन्यमा आउट हुनेमध्ये ९ खेलाडीहरु दक्ष ब्याट्सम्यान हुन् । हरभजन सिंह, अमित मिश्रा र पियुष चावला गरी ३ जना बलर हुन् । मनदीप सिंह अलराउण्डर हुन् । यीमध्ये रोहित शर्मा, अजिंक्या राहाणे, मनिष पाण्डे, अम्बाती रायुडु र शिखर धवनले शतक समेत बनाइसकेका छन् ।

आइपिएलमा रोहित शर्मा, अजिंक्या राहाणे, हरभजन सिंह र पार्थिव पटेल १३ पटक, पियुष चावला, मनदीप सिंह, मनिष पाण्डे, अम्बाती रायुडु र गौतम गम्भीर १२ पटक, दिनेश कार्तिक ११ पटक तथा अमित मिश्रा, शिखर धवन र ग्लेन म्याक्सवेल १० पटक शुन्यमा आउट भएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.