जन्मिँदै नजन्मिएको, गर्भमा समेत नरहेको बच्चाका कारण सम्बन्धविच्छेदमा विवाद !

डिसी नेपाल
२४ चैत २०७७ १४:२०
420
Shares

काठमाडौं। सम्बन्धविच्छेदका क्रममा सन्तानको अभिभावकत्व कसले लिने भन्ने विषयमा दम्पतीबीच विवाद हुन्छ । तर, जन्मिँदै नजन्मिएको र गर्भमा समेत नरहेको बच्चाको विषयमा विवाद ? सुन्दा नै अनौठो लाग्ने यो विषयमा विवाद होला भन्ने हामी सोच्दैनौं । तर, अमेरिकामा अहिले जन्मिँदै नजन्मिएको बच्चाको कारण सम्बन्धविच्छेदका मुद्दाहरुमा निकै समस्या आउन थालेको छ । स्पष्ट कानुनको अभावका कारण यो विवादले अहिले समस्या निम्त्याएको छ ।

अमेरिकामा भ्रुण फ्रिज गराउने चलन बढ्दै गएको छ । साथमा रहँदा भ्रुण फ्रिज गराएका दम्पतीहरु जब सम्बन्धविच्छेदको अवस्थामा पुग्छन् त्यसपछि त्यो भ्रुणमाथि कसको हक हुने भन्ने विषयमा उनीहरुबीच विवाद हुन थालेको छ । न्यूयोर्क टाइम्सका अनुसार लकडाउनको समयमा आइभिएफ प्रविधिबाट गर्भाधान गरी सन्तान जन्माउने क्रम बढेसँगै यस्ता विवादको संख्या पनि बढ्दै गएको छ ।

अदालतले अभिनेत्री सोफिया भेर्गारा र उनका पूर्व पार्टनर निक लोएबको सम्बन्धविच्छेदको मुद्दामा सोफियाको पक्षमा फैसला गरेपछि यस विषयमा सार्वजनिक रुपमा बहस सुरु भएको थियो । लोएबले अदालतसँग भ्रुणको अभिभावकत्व मागेका थिए तर अदालतले उनको माग अस्वीकार गरेको थियो । धेरैजसो मुद्दाहरुमा पार्टनरको मृत्यु, मानसिक सन्तुलन गुमाएको वा सम्बन्धविच्छेदको अवस्थामा भ्रुणबारे निर्णय गर्ने अधिकार कसको हुने भन्ने स्पष्ट उल्लेख छैन ।

सिलिकन भ्यालीकी चर्चित वकिल मोनिका मेजेजीका अनुसार सम्बन्धविच्छेदपछि यदि एक पार्टनरले त्यो भ्रुणबाट बच्चा चाहन्छ भने अर्को पार्टनर निकै विचित्र अवस्थामा फस्छन् । न्यूयोर्क युनिभर्सिटी लेंगोन फर्टिलिटी सेन्टरका डा. ब्रुक होड्ज भर्टजका अनुसार कम्पनहिरु बिमा योजनामा फर्टिलिटी उपचार पनि सम्मिलित गर्न थालेका छन् । त्यसैले ठूलो संख्यामा दम्पतीहरु यो विकल्प रोजिरहेका छन् ।

अमेरिकाको सबैभन्दा व्यस्त न्यूयोर्क युनिभर्सिटी लेंगोन फर्टिलिटी सेन्टरमा गत वर्ष जूनदेखि डिसेम्बरको बीचमा २०१९ को तुलनामा ३० प्रतिशत नयाँ केस बढेका छन् । सिएटल रिप्रोडक्टिभ मेडिसिन सेन्टरमा पनि यस क्रममा १५ प्रतिशत केस बढेका छन् । नक्सभिलेमा रहेको सबैभन्दा ठूलो एम्ब्रियो डोनेसन सेन्टरमा १० देखि १३ लाख एम्ब्रियो छन् । पछिल्लो दशक यहाँ भ्रुण दानको संख्या ५ देखि ६ लाखले बढेको छ ।

सन फ्रान्सिस्कोकी फिजिसियन तथा पियानिस्ट डा. मिमी लीका अनुसार उनले क्यान्सरको उपचार सुरु गराउनु भन्दा पहिले पतिसँग मिलेर ५ स्वस्थ भ्रुण फ्रिज गराएकी थिइन् । ३ वर्षपछि दुवैको सम्बन्धविच्छेद भयो । त्यसपछि डा. लीले ती भ्रुणबाट बच्चा जन्माउन चाहिन् । तर, उनका पतिले मुद्दा हालेर उनलाई रोकिदिए । न्यायाधीशले फर्टिलिटी क्लिनिकमा दम्पतीले हस्ताक्षर गरेको दस्तावेजमा भ्रुणबारे फैसला दुवैको साझेदारीबाट हुने लेखिएकोले दुवैको साझेदारीबिना बच्चा जन्माउन नमिल्ने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.