सङ्कटा क्लब आहा रारा गोल्डकपको फाइनलमा
काठमाडौं । सङ्कटा क्लबले बुधबार सशस्त्र प्रहरी बलको एपीएफलाई २–० ले हराउदै १९औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको उपाधि भिडन्तमा पुगेको पहिलो पटक हो । यस यात्रामा सङ्कटाले पहिलो खेलमा गत विजेता मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले स्तब्ध पारेको थियो । सङ्कटाले फाइनलमा अफ्रिकन रुट्स र नेपाल पुलिस क्लबमध्ये एकविरुद्ध खेल्नेछ ।
पोखरा रङ्गशालामा सङ्कटाका लागि बुधवार सुभाष गुरुङ र विदेशी खेलाडी ग्लोरीले गोल गरे । खेलको ३३औँ मिनेटमा सुभाषले डिबक्समा बल प्राप्त गरेपछि चलाखीपूर्ण ‘टर्न’सहित गोल गरेका थिए । खेलको ८३औँ मिनेटमा गोलपोस्ट नजिक रहेका एपीएफका आशिस लामासँग बराबरी गोल गर्ने सुनौलो अवसर प्राप्त भएको थियो तर उनको प्रहारलाई सङ्कटाका डिफेन्डर अमित तामाङले गोलरेखा नजिकबाट विफल पारे । अमित खेलपछि ‘म्यान अफ दि म्याच’ घोषित भए ।अन्तिम समयमा एपीएफले लगातार दबाब बनाएपनि गोल गर्न सकेन । जसको फाइदा उठाउँदै अन्तिम मिनेटमा ग्लोरीले प्रत्याक्रमणमा सङ्कटाको अग्रता दोब्बर पारे । ग्लोरीले बल डिबक्सभित्र लग्दै एपीएफका गोलरक्षकसँगको वनभर्सेज वनको स्थितिमा गोल गरेर सङ्कटाको जित पक्का गरेका थिए ।







डिसी नेपाल








Facebook Comment