पहिलो खेल हारेर ५ पटक उपाधि जितेको मुम्बइले यसपटक पनि पहिलो खेल हार्यो
काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) सुरु भइसकेको छ । गएराती भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बइ इण्डियन्सलाई २ विकेटले पराजित गरेको छ । तर, पहिलो खेल हार्नु मुम्बइको लागि कुनै ठूलो कुरा होइन । २०१२ को सिजनपछि मुम्बइले कहिल्यै लिगको पहिलो खेल जितेको छैन । लगातार ९ पटक पहिलो खेलमा पराजित भएर मुम्बइले ५ पटक उपाधि नै जितेको छ ।
मुम्बइले पहिलो उपाधि २०१३ मा जितेको थियो । यो सिजनमा मुम्बइले पहिलो खेल बैंगलोरसँग २ रनले हारेको थियो । त्यस्तै २०१४ मा मुम्बइले पहिलो खेल कोलकाता नाइटराइडर्ससँग हारेको थियो । २०१५ मा मुम्बइले पहिलो खेल कोलकाता नाइटराइडर्ससँग हार्यो तर यो सिजन उसले दोस्रो पटक उपाधि जित्यो ।
२०१६ मा पनि मुम्बइले पहिलो खेल राइजिङ पुणे सुपरजाइन्ट्ससँग हार्यो । २०१७ मा पनि मुम्बइले पहिलो खेल राइजिङ पुणे सुपरजाइन्ट्ससँग नै हार्यो तर यो सिजनमा उसले तेस्रो पटक उपाधि जित्यो । २०१८ मा पनि मुम्बइले पहिलो खेल हार्यो । यो सिजन मुम्बइले पहिलो खेलमा चेन्नइ सुपरकिंग्ससँग हारेको थियो र त्यो सिजनको उपाधि पनि चेन्नइले नै जितेको थियो ।
२०१९ मा मुम्बइले फेरि पनि पहिलो खेल हार्यो । यो सिजन मुम्बइले पहिलो खेल दिल्ली क्यापिटल्ससँग हारेको थियो तर त्यो सिजनको उपाधि भने मुम्बइले नै जित्यो । यो मुम्बइको चौथो उपाधि थियो । यस्तै गएको सिजन अर्थात २०२० मा पनि मुम्बइले पहिलो खेल चेन्नइ सुपरकिंग्ससँग हार्यो । तर, यो सिजन पनि अन्ततः फाइनलमा उपाधि मुम्बइले नै जित्यो ।
मुम्बइ इण्डियन्स आइपिएलको सबैभन्दा सफल टिम हो र उसले अहिलेसम्म ५ पटक आइपिएलको उपाधि जितेको छ । तर, सिजनको पहिलो खेल हार्नेमा पनि मुम्बइ सबैभन्दा माथि छ । उसले अहिलेसम्म कूल १४ सिजनमध्ये १० सिजनमा पहिलो खेल हारेको छ ।
पछिल्ला ९ सिजन त उसले लगातार सबै सिजनका पहिलो खेल हारेको छ । मुम्बइले पहिलो सिजन २००८ मा पनि पहिलो खेल हारेको थियो । त्यसपछि २००९ देखि २०१२ सम्म ४ सिजन भने मुम्बइले पहिलो खेल जितेको थियो ।







डिसी नेपाल








Facebook Comment