राष्ट्रिय टिममा कुशलको ‘ड्रिम डेब्यू’

डिसी नेपाल
७ वैशाख २०७८ १७:४६
476
Shares

काठमाडौं। काठमाडौंमा जारी त्रिदेशीय टी२० क्रिकेट सिरिजबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका कुशल भुर्तेलले आफ्नो तेस्रो अन्तर्राष्ट्रिय टी२० खेलमै विश्व कीर्तिमान बनाएका छन्। शनिबार शुरु भएको सिरिजमा उनले नेदरल्याण्ड्सविरुद्धको खेलमा डेब्यू गरेका थिए।

डेब्यू खेलमै अर्धसतक बनाएका उनले त्यसपछिका लगातार दुई खेलमा अर्धशतक बनाउँदै कीर्तिमान कायम गरे। कुशल टी२० अन्तर्राष्ट्रियमा डेब्यू खेलसहित लगातार तीन खेलमा अर्धशतक बनाउने पहिलो खेलाडी बने। यसअघि टी२० वरियतामा शीर्ष स्थानमा रहेको इंग्लिस खेलाडी डेविड मलानले लगातार दुई खेलमा अर्धशतक बनाएका थिए।

लामो समयदेखि ओपनिङको समस्या झेल्दै आइरहेको नेपाली राष्ट्रिय टोलीले कुशल भुर्तेलको रुपमा एक उत्कृष्ट ओपनिङ ब्याट्सम्यानन पाएको छ। शनिबार नेदरल्याण्ड्ससँगको डेब्यू खेलमा ओपनिङ गरेका उनले आक्रामक ब्याटिङ गर्दै ६२ रन बनाएका थिए। उनले अर्का ओपनर साथी तथा डेब्यू खेलाडी आसिफ शेखसँग मिलेर ११६ रनको कीर्तिमानी साझेदारी गरे। यस्तै मलेसियासँगको खेलमा ६१ रन बनाएका उनले मंगलबार नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा पुनः ६२ रन बनाएर आउट भए।

मैदानमा उत्रेपछि नै लामो शर्ट प्रहार गर्न थाल्ने कुशलले मैदानको चारैतर्फ शर्ट खेल्ने गर्छन्। अर्को भाषामा भन्दा उनले ३६० डिग्री ब्याटिङ गर्ने क्षमता राख्छन्। घरेलु क्रिकेट खेल्दै आइरहेका कुशलले आफ्नो परिश्रमको फल जारी सिरिजमा पाइरहेका छन्। उनले घरेलु प्रतियागितामा पनि ओपनिङ गर्दै आइरहेकाले ओपनिङ सहज लाग्ने बताउँछन्। लोभलाग्दो शर्ट प्रहार गर्ने उनले आफूले अभ्यासमा सिकेको कुरालाई मैदानमा प्रयोग गर्ने बताए।

सन् २०१२ देखि क्रिकेट खेल्न थालेका कुशल यू१६, यू१९, हुदैँ राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्। सन् २०१६ मा बंगलादेशमा भएको यू१९ विश्वकप खेलेका उनको प्रदर्शन राम्रो नभएपछि राष्ट्रिय टिममा छिर्न निकै गाह्रो भएको थियो।

यू१९ पछि राष्ट्रिय टिममा पर्न निकै मेहनत गरेका उनी दुई वर्षअघि बंगालदेशमा भएको एसिसी इमर्जिङ टिम्स कपका लागि राष्ट्रिय टिममा परेका थिए। उक्त खेलबाट एकदिवसीयमा डेब्यू गरेका उनी त्यसपछि भने टिममा स्थान बनाउन असफल भएका थिए। उनले भारतको यू–२३ टिमबिरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यू गरेका थिए। सो खेलमा कप्तान ज्ञानेन्द्र मल्लसँग ओपनिङ गरेका उनले २८ रन जोडेका थिए।

तर घरेलु मैदानमा जारी टी२० सिरिजको बेला बन्द प्रशिक्षणमा बोलाइएका उनी राष्ट्रिय टोलीका नयाँ प्रशिक्षक डेभ वाटमोरको नजरमा पर्न सफल भए। सिरिजको तीन खेल खेलेका कुशलले १८५ रन बनाएका छन्। उनी जारी सिरिजमा हालसम्म सबैभन्दा धेरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा रहेका छन्। उनीसँगै डेब्यू गरेका अर्का खेलाडी आसिफ शेखले पनि दुई खेलमा उत्कृष्ट ब्याटिङ गरे। तेस्रो खेलमा भने उनले खाता खोल्न सकेनन्।

कोच वाटमोरले पनि अहिलेको ओपनिङ जोडी उत्कृष्ट रहेको बताएका छन्। लामो समयदेखि खराब ओपनिङको समस्या झेल्दै आएको नेपालका लागि कुशल र आसिफले केही राहत दिलाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.